संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका जाने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा महासभामा नेपालको सहभागिताबारे जानकारी दिएका हुन्।
उनका अनुसार प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल महासभामा सहभागी हुनेछ। महासभा अर्को सातादेखि सुरु हुँदै छ। महासभामा नेपालको सहभागिताका क्रममा राष्ट्रिय हितसँग सम्बन्धित विषय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व परिस्थितिबारे नेपालको धारणा प्रस्तुत गरिने मन्त्री खनालले बताए।
प्रधानमन्त्रीको नेतृत्वमा हुने सहभागिताले नेपालका प्राथमिकता र चासोका विषय अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ।