नेपालले घरेलु भूमिमा बंगलादेशसँग टी–२०आई खेल्ने

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार आगामी वर्षको मार्चमा हुने तीन खेलको टी–२० आई सिरिज हुने जानकारी दिएको हो । बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)को संयुक्त पहलमा सिरिज आयोजना गर्न लागिएको क्यानका सचिव पारस खड्काले बताएका छन् ।

नेपालले टेस्ट मान्यता राष्ट्रसँग दोस्रोपटक टी–२० आई सिरिज खेल्न लागेको हो । एक वर्षअघि नेपालले दुईपटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग युएईमा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपालले ऐतिहासिक रूपमा २–१ ले सिरिज हात पारेको थियो । नेपाल र बंगलादेशबिचको टी–२० सिरिजको तालिका पनि क्यानले सार्वजनिक गरेको छ । जसअनुसार पहिलो खेल २६ मार्चमा हुनेछ ।

दोस्रो तथा तेस्रो खेल २८ र ३० मार्चमा हुनेछ । खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने जनाइएको छ । क्यानका सचिव खड्का अनुसार खेल नेपालमा हालै आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति समर्पित हुनेछ । ‘सिरिजले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति प्रकट गर्नेछ,’ खड्काले भने । यस सिरिजसँगै बंगलादेशले नेपाली क्रिकेटको दीर्घकालीन विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

बिसिबीले महिला क्रिकेट, उमेर समूहको विकेट तथा क्रिकेट पूर्वाधार विकासमा सहयोग गर्ने उनले बताए । यसैगरी भविष्यमा नेपाल ‘ए’ टोलीका भ्रमण तथा द्विपक्षीय ‘ए’ टोली कार्यक्रमलाई समेत प्रोत्साहन गर्दै खेलाडी विकास गर्ने लक्ष्य दुवै क्रिकेट बोर्डले राखेका छन् । ‘दुई राष्ट्रका खेलाडीबिच प्रतिस्पर्धात्मक अनुभव र नेपालको क्रिकेटको दीर्घकालीन विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ,’ क्यानका सचिव खड्काले भने ।

दीपेन्द्रले सुधारे पाँच स्थान 
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार सार्वजनिक गरेको एकदिवसीय अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीले पाँच स्थान सुधार गरेका छन् । उनी अहिले १७औँ स्थानमा पुगेका छन् । दीपेन्द्रले गत साता मलेसियामा सम्पन्न एसिसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । ओमानसँगको सेमिफाइनल र युएईसँगको फाइनल ओडीआई मान्यताको थियो ।

उनले ओमानविरुद्ध अर्धशतक र तीन विकेट लिएका थिए । यसैगरी युएईसँगको फाइनलमा उनले १८ रन बनाउनुका साथै एक विकेट लिएका थिए । यसै प्रदर्शनका आधारमा उनले १७१ रेटिङ पाए । यसैगरी, एकदिवसीय ब्याटिङ वरीयतामा दीपेन्द्र १० स्थान माथि उक्लिँदै ८४औँ स्थानमा पुगेका छन् । टी–२०आई अलराउन्डर वरीयतामा उनी तेस्रो स्थानमै छन् ।

ललितको पाँच तथा सन्दीपको तीन स्थान सुधार
एकदिवसीय बलिङ वरीयतामा नेपालका स्पिनर ललित राजवंशी पाँच र कप्तान सन्दीप लामिछानेले तीन स्थान सुधार गरेका छन् । नयाँ वरीयताअनुसार ललित ४०औँ र सन्दीप ४६औँ स्थानमा पुगेका छन् । ललितको रेटिङ अंक ५०९ र सन्दीपको ४९१ पुगेको छ । एसिसी प्रिमियर कपमा दुवैले उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीप प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बनेका थिए । ललितले ओमान र युएईविरुद्ध समान दुई विकेट लिएका थिए । सन्दीपले ओमानविरुद्ध तीन तथा युएईविरुद्ध एक विकेट लिए ।

See More On

सुझावित समाचार