नेकपा एमालेकी सांसद पद्मा अर्यालले विपत् व्यवास्थापनमा आफ्नो सामर्थ्य आकलन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी भएको टिप्पणी गरेकी छिन्। मंगलबार प्रतिनिधिसभा बैठकमा अर्यालले विपत् पूर्वतयारी नभएको उल्लेख गर्दै विपत् भइसकेपछि पनि आवश्यक छलफल र समन्वय नभएको बताइन्।
‘घटना घटिसकेपछि पनि राम्रो तयारी हुन सकेको भए सायद यति ठुलो मानवीय क्षति हुने थिएन होला। आफ्नो सामर्थ्यको आकलन गर्न नसक्नु गम्भीर कमजोरी हो। जुन घटना घट्यो त्यसको सामना हाम्रो वर्तमान सामर्थ्यले मात्र गर्न नसक्ने अवस्था थियो,’ उनले भनिन्।
विपत् प्राकृतिक विषय भए पनि पूर्वतयारी, खोजीमा हुने ढिलाइ, राहतमा हुने विभेद र पुनर्स्थापनामा हुने ढिलाइ प्राकृतिक विपत्ति नभएको प्रस्ट पार्दै सांसद अर्यालले सर्वदलीय बैठक राखेर छलफल, समन्वय र सहकार्यको पहल नगरिएकोमा आपत्ति जनाइन्।
‘यो विपत्तिको वेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुहोस्। प्रधानमन्त्रीज्यू देश र जनताको माया तपाईंलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन,’ उनले भनिन्।
सरकारले कुनै काम नै गरेन भन्ने आफ्नो आशय नभएको प्रस्ट पार्दै उनले थपिन्, ‘अझ बेसी गर्न सकिन्थ्यो। त्यसका लागि सरकारले वेलैमा आवश्यक छलफल, समन्वय, स्रोत परिचालनमा पर्याप्त ध्यान दिन सकेन भन्ने हाम्रो भनाइ हो।’