- मिहिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधजस्ता घटना निरन्तर वृद्धि भइरहनु गम्भीर चिन्ताको विषय भएको उल्लेख
- सर्वदलीय रूपमा प्रतिनिधिसभामा दर्ता प्रस्तावमा भनिएको छ–बालिका तथा किशोरीमाथि हुने यौन अपराधले उनीहरूको मानसिक, शारीरिक र भविष्यमा दीर्घकालीन असर पारिरहेको छ । अर्कोतर्फ, डिजिटल प्रविधिको विस्तारसँगै साइबर बुलिङ, चरित्रहत्याजस्ता नयाँ प्रकृतिका अपराधले महिलाको सम्मान र गोपनीयतामा गम्भीर आघात पुर्याएका छन् ।
महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर बुलिङविरुद्ध प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ । एमाले सचेतक नीता घतानीको प्रस्तावमा सांसदहरू श्रद्धा कुँवर क्षेत्री, अम्बिकादेवी संग्रौला, रेनुका काउचा, खुश्बु ओली, बलावती शर्मा र पार्वती विकले समर्थन जनाएर सर्वदलीय रूपमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने (धारा १६), स्वतन्त्रता (धारा १७), समानता (धारा १८), बालबालिकाको हक (धारा ३९) तथा महिलाको हक (धारा ३८) मार्फत हिंसा वा शोषणविरुद्धको अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरेको, तर व्यवहारमा महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधजस्ता घटना निरन्तर वृद्धि भइरहनु गम्भीर चिन्ताको विषय भएको प्रस्तावमा उल्लेख छ ।
‘बालिका तथा किशोरीमाथि हुने यौन अपराधले उनीहरूको मानसिक, शारीरिक र भविष्यमा दीर्घकालीन असर पारिरहेको छ । अर्कोतर्फ, डिजिटल प्रविधिको विस्तारसँगै साइबर बुलिङ, चरित्रहत्या जस्ता नयाँ प्रकृतिका अपराधले महिलाको सम्मान र गोपनीयतामा गम्भीर आघात पुर्याएका छन्,’ प्रस्तावमा भनिएको छ ।
यसै सन्दर्भमा गृह मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई बोलाएर छलफल गर्न माग गर्दै प्रस्ताव दर्ता गरिएको संसद् सचिवालयले जनाएको छ ।