कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले विशेष महाधिवेशन पक्षधरले पार्टीको अधिवेशन र महाधिवेशनको कार्यतालिका स्थगन गरेर वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडि बढाउनुलाई कुनै पनि हालतमा उचित मान्न नसकिने बताएका छन्।
डा. कोइरालाले सोमबार पत्रकार सम्मेलन गर्दै पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेको जिकिर गरे।
‘पार्टीलाई विभाजनको दिशातर्फ धकेल्ने कुनै पनि कदमबाट बच्न, संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो। तर, दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन,’ उनले भने।
डा. कोइरालाले निश्चित सर्तहरू स्वीकार गरे मात्र पद व्यवस्थापन गरिने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँटलाई समाधानको आधार बनाइने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने बताए। कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने कोइरालाको भनाइ छ।
उनले विशेष महाधिवेशनको नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतालाई क्षति नपुर्याउन आफूहरूले आग्रह गरेको स्मरण गराउँदै विशेष महाधिवेशन पक्षधरले सो आग्रहलाई बेवास्ता गरेको बताए।
डा. कोइरालाले कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्यत् भएको आरोप लगाउँदै पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु आजको आवश्यकता भएको बताए।
उनले विद्यमान अवस्थामा सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुन अपिल गर्दै असाेज ३ गतेबाट विधि प्रक्रिया मिचेर सुरु गर्ने भनिएको तथाकथित अधिवेशनमा भाग नलिन आग्रह गरे।