बौलाहा खोलाको बाढीले जाजरकोटमा भूकम्पपीडितका अस्थायी घरटहरा र पसल बगायो

बाढीले भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

अविरल वर्षापछि नलगाड नगरपालिका– १ र २ को सीमामा पर्ने बौलाहा खोलामा आएको बाढीले भूकम्पपीडितका अस्थायी आवाससहित स्थानीयका पसल बगाएको छ  । भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध गरेपछि डोल्पा–नेपालगन्ज आवतजावतसमेत ठप्प भएको छ । गएराति परेको अविरल वर्षाका कारण आएको बाढीले नलगाड– १ बैरीतालमा बसोबास गर्दै आएका स्थानीयका घरटहरा तथा व्यवसाय बगाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

बाढीले नलगाड– १, बैरीतालका मानबहादुर विकको तीनकोठे अस्थायी टहरा पूर्ण रूपमा बगाएको छ । सोही ठाउँकी बबिता महराको अस्थायी टहरा र किराना पसल, कृष्ण महरको एककोठे अस्थायी टहरा, मेघराज कुमाईंले बोइलर कुखुराको दाना राख्दै आएको अस्थायी टहरा तथा नन्दे महरको कपडा पेल्ने मेसिनसहितको अस्थायी टहरा पूर्ण रूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताए ।

त्यस्तै, स्थानीय बलबहादुर विकको किराना पसल रहेको अस्थायी टहरा पनि पूर्ण रूपमा बगाएको छ । जनक भण्डारीको अस्थायी टहरामा सञ्चालनमा रहेको फ्रेस हाउससहित त्यहाँ रहेका करिब एक सयवटा बोइलर कुखुरा बाढीले बगाएको प्रजिअ बरालले बताए । बाढीको पानी र हिलो पस्दा दले कामीको किराना पसलमा आंशिक क्षति पुगेको छ । छवि महरको भे.१ह २६३३ नम्बरको अटो हिलोपानीमा पुरिएर क्षति भएको छ भने हिरालाल घर्तीको ग.१त ७२७८ नम्बरको ट्याक्टरसमेत माटोले पुरिएर आंशिक क्षति भएको प्रहरीले जनाएको छ।

नलगाड– २ का सत्यदेव चनाराको पानीघट्टसमेत बाढीले पूर्ण रूपमा बगाएको छ । बाढीका कारण स्थानीयको व्यापार–व्यवसायसँगै भूकम्पपछि बनाइएका अस्थायी आवाससमेत बगाएपछि प्रभावित परिवार थप समस्यामा परेका छन् । दुई वर्षअघिको भूकम्पबाट घरबार गुमाएका नागरिकले अस्थायी टहरामा आश्रय लिइरहेका वेला पुनः बाढीले टहरा नै बगाएपछि उनीहरूलाई अर्को संकट थपिएको हो ।

प्रमुख जिल्ला अधिकारी बरालले अविरल वर्षाका कारण नलगाड नगरपालिका– १, २ र ३ का विभिन्न क्षेत्र बढी प्रभावित भएको जानकारी दिए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी परिचालन गरिएको र क्षतिको वास्तविक अवस्था बुझ्न सुरक्षा निकायका टोली परिचालन गरिएकाे उनको भनाइ छ । ‘तीनवटै सुरक्षा निकाय र प्रशासनको टोली सम्बन्धित क्षेत्रमा पुगेर स्थलगत अवलाेकन र उद्धार कार्य  गर्दै छ,’ प्रजिअ बरालले भने, ‘क्षतिको पूर्ण विवरण अझै आएको छैन ।’

बौलाहा खोलामा आएको बाढीले भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि डोल्पा जाने र डोल्पाबाट जाजरकोट हुँदै नेपालगन्जतर्फ आउने यातायात सेवा प्रभावित भएको छ । इलाका प्रहरी कार्यालय दल्लीबाट करिब एक किलोमिटर पश्चिम पर्ने क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलको अवस्था, क्षतिको थप विवरण तथा सडक खुलाउने प्रयासबारे समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख बुद्धिसागर पुरीले बताए । प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभए पनि अस्थायी आवास, पसल, व्यवसाय, कुखुरा, पानीघट्ट तथा सवारीसाधनमा उल्लेख्य क्षति पुगेको उनको भनाइ छ ।

See More On

सुझावित समाचार