पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिरमा बनाइएको नयाँ सडक ट्रयाकको परीक्षण सफल भएको छ । निर्माणको अन्तिम तयारीमा रहेको ट्रयाकको आइतबार गरिएको परीक्षण सफल भएसँगै १ असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको छ ।
त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भूभाग कटान गरेपछि १४ भदौमा कृष्णभिरमा करिब एक सय मिटर सडक भासिएको थियो । त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ । अर्थात्, पश्चिम नेपालबाट काठमाडौंमा आउजाउ गर्ने सवारीसाधन प्रभावित भएका छन् । सोही कारण काठमाडौंमा खाद्यान्न, ग्यास निर्माण सामग्रीलगायतका अत्यावश्यक वस्तु आपूर्ति शृंखला प्रभावित भएको छ । हाल वैकल्पिक मार्ग प्रयोग भइरहेका छन् ।
काठमाडौं भित्रिने मुख्य सडक अवरुद्ध भएपछि सडक विभागले १९ भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्रयाक खन्न सुरु गरेको थियो । त्यसको १०औँ दिन अर्थात् २८ भदौमा नयाँ ट्रयाक तयार भएको हो ।
निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न आइतबार काठमाडौंबाट चितवनतर्फ एउटा ग्यास बुलेटसहित करिब २० वटा सवारीसाधन पठाइएको थियो । यसैगरी, चितवनबाट काठमाडौंतर्फ एउटा भारीसहित केही हलुका सवारीसाधन प्रवेश गराइएको छ । त्यसको परीक्षण सफल भएको सडक विभागका प्रवक्ता शुभराज न्यौपाने बताए । ‘परीक्षण सफल भए सँगै बाँकी रहेको सडक स्तरोन्नति तथा सुरक्षाका कार्य जारी नै छ । त्यसैले परीक्षणपछि सडक खुला गरिएको छैन । यस सडक १ असोजदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य छ । त्यसवेलासम्म सडक पूर्ण रूपमा बन्द नै हुन्छ,’ उनले भने ।
झन्डै दुई सय मिटर लामो नयाँ ट्रयाकमा दुईतर्फी रूपमा यातायात सञ्चालन गर्न सक्ने गरी दुई लेन नै निर्माण गरिएको छ । हाललाई सडकमा ग्राभेल मात्रै गरिनेछ ।