नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा हुने भएको छ। आइतबार सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समिति बैठकले महाधिवेशन खुलामञ्चमा गर्ने निर्णय गरेको हो।
०३६ सालमा बिपी कोइरालाले जनताको स्वतन्त्रता र अधिकारको लागि उद्घोष गरेको तथा ०४६ सालमा गणेशमान सिंहले आन्दोलन सुरु गरेको ठाउँ भएकाले आगामी महाधिवेशनका लागि खुलामञ्च चयन गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
‘खुलामञ्चबाटै हामीले यसपालिको अधिवेशन महाेत्सवको रूपमा ओपनिङ गर्ने र बन्दसत्र पनि त्यहीँ गर्ने निर्णय गरेका छौँ,’ बैठकका निर्णयबारे जानकारी दिँदै चालिसेले भने।
यसअघि कांग्रेसले महाधिवेशनका लागि प्रदर्शनी हल, लबी, पार्किङस्थल र बगैँचा उपलब्ध गराइदिन आग्रह गर्दै प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहलाई पत्र लेखेको थियो।