प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन न्युयोर्क जानुअघि प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा गएका छन् ।
द्विपक्षीय वार्ता तथा चीनद्वारा आयोजित १३औँ बेइजिङ सिय्याङसान फोरममा सहभागी हुन प्रधानसेनापति सिग्देल आइतबार चीन प्रस्थान गरेका छन् । उनी ३ असोजमा स्वदेश फर्किने कार्यक्रम छ।
फोरम ३०, ३१ भदौ तथा १ असोजमा बेइजिङमा आयोजना हुनेछ। प्रधानसेनापति दुई दिनअघि नै बेइजिङ गएर सैनिक नेतृत्व तथा रक्षा मन्त्रालयका अधिकारीहरूसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। जंगी अड्डाले आइतबार भ्रमणतालिका सार्वजनिक गरेको छ।
प्रधानसेनापति सिग्देल गत वर्ष चीन जाने कार्यक्रम तय भए पनि जेन–जी आन्दोलनका कारण उनको भ्रमण रोकिएको थियो । बेइजिङमा हरेक वर्ष हुने सुरक्षासँग सम्बन्धित यो कार्यक्रममा यो वर्ष अमेरिकी सैनिक अधिकारीहरू पनि सहभागी हुने चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
‘स्थायित्वमा सहमति निर्माण गरौँ, सुरक्षा प्रशासन (सेक्युरिटी गभर्नेन्स)लाई सँगै अगाडि बढाऔँ’ भन्ने मूल नारा तय भएको छ । फोरममा चारवटा पूर्ण सत्र तथा आठवटा समानान्तर सत्रहरू राखिएको छ । ग्लोबल टाइम्सका अनुसार यसपालि चौथो चीन–अफ्रिका शान्ति तथा सुरक्षा फोरम आयोजना हुँदै छ ।
चाइना एसोसिएसन फर मिलिटरी साइन्सले यो कार्यक्रम आयोजना गर्दै छ । एसाेसिएसनका वरिष्ठ कर्णेल ली फेईले रक्षा तथा सैन्य नेताहरू, अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनका प्रमुखहरू र अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त विशेषज्ञ तथा विद्वानहरूलाई यो कार्यक्रमले एकै ठाउँमा ल्याउने बताएका छन् ।
यसपालि जापानका पूर्वप्रधानमन्त्री युकिओ हातोयामा, युरोपेली संसद्का पूर्वउपअध्यक्ष रिचार्ड चार्नेकी र सांघाई सहयोग संगठन (एससिओ)का पूर्वमहासचिव भ्लादिमिर नोरोभसहित करिब दुई सयजना विशेषज्ञ तथा विद्वानहरू फोरममा सहभागी हुने भएका छन् ।
अन्तर्राष्ट्रिय व्यवस्था र रणनीतिक स्थायित्व; स्थानीय द्वन्द्वः संकट र समाधानका मार्गहरू; एसिया–प्रशान्त क्षेत्रमा सुरक्षा र स्थायित्वका जोखिम तथा चुनौतीहरू; र विकासोन्मुख देशहरूको भूमिका र दृष्टिकोणबारे सत्रमा छलफल हुनेछन् ।
यसैगरी, बहुध्रुवीयता र अन्तर्राष्ट्रिय व्यवस्था, प्रमुख शक्तिहरूिचको सम्बन्ध र रणनीतिक स्थायित्व, सुरक्षा चुनौतीहरू सम्बोधन गर्ने एसियाली दृष्टिकोण र अन्तर्राष्ट्रिय हतियार नियन्त्रणले सामना गरिरहेका नयाँ चुनौतीहरूजस्ता विषयहरूमा पनि वेग्लै छलफल हुनेछ।
सन् २००६ मा सुरुवात भएदेखि बेइजिङ सिय्याङसान फोरमका १२ वटा संस्करणहरू सम्पन्न भइसकेका छन्। यो रक्षा थिंकट्यांकहरूबिचको ‘ट्रयाक २’ आदानप्रदानबाट विकसित भई अहिले ट्रयाक १.५ को मञ्चका रूपमा स्थापित भएको छ । फोरममा एक सयभन्दा बढी देशका सहभागीहरू हुनेछन् ।
चारवटा पूर्ण सत्रहरू अन्तर्राष्ट्रिय व्यवस्था र रणनीतिक स्थायित्व, स्थानीय द्वन्द्व, संकट र समाधानका मार्गहरू, एसिया–प्रशान्त क्षेत्रमा सुरक्षा र स्थायित्वका जोखिम तथा चुनौतीहरू र विकासोन्मुख देशहरूको भूमिका र दृष्टिकोणमा केन्द्रित छन्।