यस महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा १ असोजमा

दुईजनाले १०–१० लाख र ३१ जनाले एक लाख ३३ हजारका दरले उपहार जित्ने

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी १ असोजमा गरिने भएको छ । करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो ।

१ साउनदेखि सुरु गरिएको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत १६ भदौमा हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण स्थगन गरिएको थियो । अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले १ असोजमा भदौ महिनाभरिको पुरस्कार घोषणा गर्ने तयारी गरिरहेको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए । 

उनका अनुसार पहिलो चरणमा १ देखि १५ भदौसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिनको एकजनाका दरले १५ जनालाई एक लाख ३३ हजार तीन सय ३४ रुपैयाँका दरले विजेता छनोट गरिनेछ । यस्तै, १ देखि १५ सम्म कारोबारमा संलग्न उपभोक्तामध्येबाट एकजनालाई १० लाख रुपैयाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनोट गरिनेछ ।

त्यसपछि दोस्रो चरणमा, भदौ १६ देखि ३१ गतेसम्म १६ दिनका लागि १६ जनालाई एक लाख ३३ हजार तीन सय ३४ रुपैयाँ पुरस्कारका लागि छनोट गरिने विभागले जनाएको छ । यस्तै, भदौको दोस्रो १६ दिनका उपभोक्तामध्येबाट एकजना १० लाख रुपैयाँ राशिको बम्पर विजेता छनोट हुनेछन् ।

असोज १ गते भदौ महिनाका एक लाख ३३ हजार तीन सय ३४ रुपैयाँका ३१ जना विजेता र १०–१० लाख रुपैयाँका दुईजना बम्पर विजेता गरी जम्मा ३३ जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।पुरस्कारका लागि योग्य हुन उपभोक्ताले अनिवार्य रूपमा एक सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिएको र सकेसम्म अनलाइन भुक्तानी गरेको हुनुपर्नेछ । विभागका अनुसार अनलाइनमार्फत गरिएको कारोबार स्वतः सरकारको करदाता प्रोत्साहन प्रणालीमा समावेश हुन्छ । नगदमा कारोबार गरेर सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गई आफूले प्राप्त गरेको बिल अपलोड गरेर पुरस्कारका लागि योग्य बन्न कुपन लिनुपर्छ । 

भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले पुरस्कारमा सहभागी हुन १५ गतेसम्म आफ्नो बिल प्रणालीमा दर्ता गरेर उपहार कुपन लिइसकेको हुनुपर्ने विभागले जनाएको छ । साथै, १६ देखि ३१ गतेसम्म कारोबार गरेर बिल लिएका उपभोक्ताले भदौ मसान्तको राति १२ बजेसम्ममा आफ्नो बिल प्रणालीमा दर्ता गरेर उपहार कुपन प्राप्त गरिसकेको हुनुपर्छ । 
दुवै पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ । हरेक दिनका एक लाख ३३ हजार तीन सय ३४ रुपैयाँका विजेताले कर कटाएर एक लाख र १० लाखका विजेताले सात लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुहुने कार्यविधि छ ।

सुझावित समाचार