भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण अवरुद्ध सडक सम्पर्क तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई तीनवटा ७० मिटर लम्बाइका एकतर्फी सिंगल मोड्युलर पुल उपलब्ध गराएको छ।
भारत सरकारको सहयोगस्वरूप प्राप्त पुल शनिबार सडक डिभिजन हेटौँडालाई हस्तान्तरण गरिएको हो ।
सडक डिभिजन हेटौँडामा आयोजित कार्यक्रममा भारत सरकारका तर्फबाट भारतीय राजदूतावासका फर्स्ट सेक्रेटरी नारायण सिंहले तीनवटै पुल सडक डिभिजन हेटौँडालाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतम, हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामालगायतको उपस्थिति थियो ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पहिरोले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा सडक तथा पुलमा ठुलो क्षति पुर्याएपछि सडक सम्पर्क पुनर्स्थापनाका लागि भारतले यी पुल उपलब्ध गराएको हो ।
बाढीबाट रसुवादेखि चितवनसम्मका दर्जनौँ मोटरेबल पुलमा क्षति पुगेपछि नेपाल सरकारले सडक सम्पर्क पुनर्स्थापनाका लागि अस्थायी पुल निर्माणलाई प्राथमिकता दिएको छ ।