हत्याका चार दोषी पक्राउ, ४० वर्षदेखि बसिरहेका थिए आफ्नै घरमा

शनिबार, २७ भदौ, २०८३
डिजिटल संस्करण

हत्या कसुरमा अदालतबाट दोषी ठहर भएपछि फरार भएका चारजना ४० वर्षपछि पक्राउ परेका छन्। २०४३ असार १५ गते तत्कालीन डाँगीहाट–८ र बाहुनी–१, पञ्चायतको सीमास्थित काकुम झोडाको खेतमा घाँस काट्ने विषयमा विवाद हुँदा स्थानीय आशाराम खवासको हत्या आरोपमा तीनै तहका अदालतबाट दोषी ठहर भई फरार उनीहरू ४० वर्षदेखि आफ्नै घरमा बस्दै आएका थिए।

पक्राउ पर्नेमा बेलबारी–४, काकुम बाबुराम टोलका रामकुमार राई, बालकुमार राई र बाबुराम राई र कमल ढकाल छन्। रामकुमार, बालकुमार र बाबुराम एकाघरका नातेदार हुन्। उनीहरू चारैजना ६० वर्ष कटिसकेका छन्। उनीहरूलाई बुधबार राति इलाका प्रहरी बेलबारीका इन्स्पेक्टर राजीव गिरीको टोलीले आफ्नै घरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार तीनैजना कर्तव्य ज्यान मुद्दामा जिल्ला, उच्च र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए। अदालतले रामकुमारलाई २० वर्ष तथा बालकुमार, बाबुराम र कमल ढकाललाई जनही पाँच वर्ष कैद सजाय तोकेको थियो। फरार रहेका उनीहरू नागरिकतामा उमेर घटाएर फरक पहिचान देखाएर आफ्नै घरमा बस्दै आएका थिए।

हटिया बजारमा हत्या गरिएका खवासकी आमाले मुख्य अभियुक्त रामकुमारलाई छोराको हत्या गरेर खुलेआम घुमिरहेको देखेपछि गालीगलौज गर्दै हातपात गरेकी थिइन्। त्यसपछि फरार रहेका उनीहरूबारे थाहा पाएको बेलवारी प्रहरीले कमल ढकाललाई पक्राउ गरेको थियो। ढकालबाटै पुष्टि गराएर बुधबार राति घर घेरा हालेर तीनजनालाई पक्राउ गरेको थियो। घटनामा दोषी ठहर भएका पाँचमध्ये अर्का एकजना अझै फरार छन्।

पक्राउ परेका चारैजनालाई कैद सजाय भुक्तानीका लागि नागरिकताको विवरणसमेत उल्लेख गरेर बिहीबार अदालतको जिम्मा लगाएको र अफर अर्का व्यक्तिको खोजी गरिरहेको प्रहरीले बताएको  छ।
 

सुझावित समाचार