उपाध्यक्ष बादलको प्रस्तुतिले पार्टी पुनर्गठन कार्यदलमा नोकझोक

शनिबार, २७ भदौ, २०८३
डिजिटल संस्करण

एमाले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष तथा संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन् । यसअघि नै तयार भएको पोखरेलको प्रतिवेदनमा गत चुनावको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै तल्लो तहबाट आएका पार्टी पुनर्गठनको मागलाई प्रमुखताका साथ उठाइएको छ । तर, बादलले त्यसलाई ‘काउन्टर’ दिँदै ओलीको प्रतिरक्षामा प्रतिवेदन तयार गरेका छन् ।

बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै नेतृत्वलाई हटाएर पार्टीलाई अन्तध्र्वंश पार्न खोजिएको अभिव्यक्ति दिएपछि नेताहरूबीच नोकझोंक चलेको थियो । संयोजक बादलको अभिव्यक्तिको महासचिव पोखरेल, उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरूले प्रतिवाद र आलोचना गरेका थिए । यसक्रममा पौडेलले त एमालेको संस्कृति नै बुझ्न नसकेको भन्दै उपाध्यक्ष बादललाई पार्टी स्पिरिट बुझ्न सुझाएका थिए । 

आलोचना गर्ने नेताहरूले केन्द्रीय सचिवालय र यसअघिको कार्यदल बैठकको निर्णयविपरीत बादलको प्रतिवेदन आएको बताएका थिए । १५ सदस्यीय कार्यदलमा पार्टी पुनर्गठनका क्रममा अध्यक्ष केपी ओलीलाई हटाउनुपर्ने र हटाउन नहुने दुवै मत राख्ने नेता रहे पनि बादलले पार्टीको निर्णयको मर्म नै नबुझेको भन्दै केही नेताले बैठकमा खुलेर आलोचना गरेका थिए ।

बादलमाथि कार्यदलमै मत विभाजन गराउन खोजेको आरोपसमेत लागेको छ । त्यसक्रममा नेताहरूले संयोजकको भूमिकामाथि प्रश्न उठाएर आलोचना गरेपछि बैठक अन्य विषयमा प्रवेश नै हुन सकेन । अन्ततः दुवै दस्ताबेजलाई आधार बनाएर मत विभाजन नगरी एकीकृत प्रतिवेदन तयार गर्ने सहमतिसहित बैठक टुंगिएको थियो ।

बैठकमा बादलको आलोचना गर्ने परिस्थिति भने अध्यक्षता गर्ने क्रममा संयोजक बादलले नै सिर्जना गरेको नेताहरूको भनाइ छ । त्यसपछि बैठकमा सहभागी अधिकांश नेताले उनको कार्यशैलीमाथि प्रश्न उठाउँदै लामो समय आलोचनामा खर्चिएका थिए । ‘संयोजकले नै मेरो र महासचिवको अलग–अलग दुईवटा छुट्टाछुट्टै डकुमेन्ट छन् भन्दै प्रस्तुत गर्न खोजेपछि बैठकको माहोल नै उहाँको आलोचनातिर मोडियो,’ कार्यदलका एक सदस्यले सुनाए । 

उनका अनुसार कार्यदललाई प्रतिवेदन बनाएर केन्द्रीय सचिवालयमा बुझाउने कार्यादेश दिइएको थियो । महासचिवले प्रतिवेदनको मस्यौदा तयार पार्ने र त्यसमा थपघट, हेरफेर तथा परिमार्जन गरी कार्यदलको बैठकमा संयोजकले छलफलका लागि पेस गर्ने तथा पारित गरेर सचिवालयमा बुझाउने यसअघिको निर्णय थियो । तर, त्यसविपरीत अध्यक्षता गरिरहेका संयोजकले नै दुईवटा छुट्टाछुट्टै दस्ताबेज प्रस्तुत गर्न खोजेपछि उनको शैली र कार्यशैलीमाथि आलोचना सुरु भएको ती सदस्यले दाबी गरे । 

बैठकमा उपाध्यक्ष पौडेल बादलको कार्यशैलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका थिए । ‘बैठकबाट महासचिवलाई प्रतिवेदन तयार पार्न लगाउने, तर संयोजकले नै अर्को प्रतिवेदन ल्याउने ? तपाईंले उहाँले ल्याएको प्रतिवेदन हेरेर थपघट गर्ने, मिलाउने, परिमार्जन गर्ने कि बैठकमा छलफल नै नगरी अलग्गै प्रतिवेदन ल्याएर मत विभाजनको प्रयास गर्ने ? यो पनि पार्टी चल्ने तरिका हो ?’ पौडेलको भनाइ उद्धृत गर्दै एक सदस्यले भने । ती सदस्यका अनुसार पौडेलले बादलले पार्टी निर्णयको मर्म नै नबुझेको आरोपसमेत लगाएका थिए । पौडेलको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘तपाईंले पार्टी निर्णयको स्पिरिट नै बुझ्नुभएन । एमालेले कसरी निर्णय गर्छ, पार्टीको भाषा टिप्न सक्नुभएन । लय, शैली र एमाले संस्कृति केही पनि बुझ्न सक्नुभएन । त्यसैले अलग प्रतिवेदनमा छलफल हुँदैन ।’

दुई समानान्तर प्रतिवेदन मिलाएर एउटै बनाउने सहमति
चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई समानान्तर प्रतिवेदन आएपछि बढ्दो तनावबिच एमालेमा दुवै प्रतिवेदन मिलाएर एकीकृत प्रतिवेदन बनाउने सहमति भएको छ । केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार बसेको बैठकले शनिबारदेखि लगातार आवासीय छलफल गरेर दुवै दस्ताबेज अध्ययन गर्ने र सहमतिका आधारमा एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ । कार्यदलबाट पारित प्रतिवेदन केन्द्रीय सचिवालय बैठक हुँदै आगामी ५ देखि ७ असोजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत गर्ने तयारी छ । 

बैठकपछि प्रचार विभाग प्रमुख नीरज आचार्यले शनिबारदेखि आवासीय रूपमा लगातार छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय भएको बताए । ‘बैठकले दुवै डकुमेन्टको अध्ययन गर्ने र भोलिदेखि आवासीय बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ,’ आचार्यले नयाँ पत्रिकासँग भने ।

मधेश प्रदेशका इन्चार्ज लीलानाथ श्रेष्ठले पनि मत विभाजन नगरी सहमतिका आधारमा एकीकृत प्रतिवेदन बनाउने निर्णय भएको बताए । उनका अनुसार प्रदेश कमिटीहरूबाट आएका सुझावसमेत समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिइनेछ । ‘शनिबारदेखि लगातार छलफल हुन्छ र बल्ल प्रतिवेदन बन्छ । कुन कुरा राख्ने, कुन काट्ने, के थप्ने भन्ने क्रमशः टुंगिँदै जान्छ,’ श्रेष्ठले भने, ‘छलफल गर्दै अगाडि बढ्दा मत विभाजन नगर्ने र बहुमतका आधारमा निर्णय नगर्ने कुरा भएको छ । प्रदेश कमिटीहरूबाट प्रदेशगत सुझाव पनि समेटिनेछन् ।’

संयोजकले महासचिवको प्रतिवेदनलाई परिमार्जन गरेर एउटै दस्ताबेजका रूपमा ल्याउनुपर्नेमा त्यसो हुन नसक्दा भ्रम सिर्जना भएको श्रेष्ठको भनाइ छ । ‘संयोजकले महासचिवको प्रतिवेदनमा आवश्यक कुरा थप्ने, हटाउने र समेट्ने गरेर एउटै प्रतिवेदन ल्याउनुपर्ने हो । त्यसमा कमजोरी हुँदा भ्रम सिर्जना भएको हो,’ उनले भने ।

सचिव पद्मा अर्यालले भने एमालेमा कुनै विमति नरहेको र पार्टीलाई एकढिक्का बनाएर एकीकृत प्रतिवेदन ल्याउने उपाध्यक्ष पौडेलको धारणा रहेको बताइन् । अर्यालले संयोजक र महासचिवका तर्फबाट आएका दुईवटा दस्ताबेजलाई कार्यदलको औपचारिक प्रतिवेदनका रूपमा बुझ्न नहुने बताइन् । ‘संयोजक र महासचिवका तर्फबाट डकुमेन्ट भनेर व्यक्तिगत धारणा आएका छन् । कार्यदलको प्रतिवेदन बनेकै छैन । अब बल्ल छलफल सुरु हुन्छ र कार्यदलले आफ्नो प्रतिवेदन बनाएर पार्टीलाई बुझाउँछ,’ उनले भनिन् ।

अर्का सचिव यमलाल कँडेलले पनि शुक्रबारको बैठकमा प्रतिवेदनकेन्द्रित छलफल नै नभएको बताए । पार्टीले दुईवटा प्रतिवेदन बनाउने जिम्मेवारी नदिएकाले एउटै प्रतिवेदन तयार गर्ने निर्णय भएको उनको भनाइ छ । ‘प्रतिवेदनका विषयमा प्रवेश नै भएन । पार्टीको बैठकले दुईवटा प्रतिवेदन ल्याउने जिम्मेवारी दिएकै होइन र थिएन । त्यसैले एउटै प्रतिवेदन ल्याउने निर्णय भएको छ,’ कँडेलले भने, ‘अबको छलफलमा के हुन्छ भन्ने सबै छलफलबाटै तय हुन्छ ।’

बादलको आलोचना गर्दै विष्णु पौडेलले भने– तपाईंले एमालेको भाकै टिप्न सक्नुभएन
बैठकबाट महासचिवलाई प्रतिवेदन तयार पार्न लगाउने, तर संयोजकले नै अर्को प्रतिवेदन ल्याउने ? तपाईंले उहाँले ल्याएको प्रतिवेदन हेरेर थपघट गर्ने, मिलाउने, परिमार्जन गर्ने कि बैठकमा छलफल नै नगरी अलग्गै प्रतिवेदन ल्याएर मत विभाजनको प्रयास गर्ने ? यो पनि पार्टी चल्ने तरिका हो ? तपाईंले पार्टी निर्णयको स्पिरिट नै बुझ्नुभएन । एमालेले कसरी निर्णय गर्छ, पार्टीको भाषा टिप्न सक्नुभएन । लय, शैली र एमाले संस्कृति केही पनि बुझ्न सक्नुभएन । त्यसैले अलग प्रतिवेदनमा छलफल हुँदैन ।

दुई समानान्तर प्रतिवेदन मिलाएर एउटै बनाउने सहमति
एकीकृत प्रतिवेदनका लागि शनिबारबाट लगातार आवासीय छलफल

चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई समानान्तर प्रतिवेदन आएपछि बढ्दो तनावबिच एमालेमा दुवै प्रतिवेदन मिलाएर एकीकृत प्रतिवेदन बनाउने सहमति भएको छ । केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार बसेको बैठकले शनिबारदेखि लगातार आवासीय छलफल गरेर दुवै दस्ताबेज अध्ययन गर्ने र सहमतिका आधारमा एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ । कार्यदलबाट पारित प्रतिवेदन केन्द्रीय सचिवालय बैठक हुँदै आगामी ५ देखि ७ असोजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत गर्ने तयारी छ । 

सुझावित समाचार