परिवार, समुदाय र राज्यका संयन्त्रको सामूहिक प्रयासबाट आत्महत्या रोकथाम गर्न सकिनेमा सरोकारवालाले जोड दिएका छन्। विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा नेसन सोलुसन एन्ड रिसर्च सेन्टर (एनएसआरसी) र ग्रान्डी इन्टरनेसनल हस्पिटलको संयुक्त आयोजनामा भएको ‘नेसनल डाइलग समिट अन सुसाइड प्रिभेन्सन २०२६’ मा सहभागी विज्ञ तथा सरोकारवालाले परिवार र समाजलाई मानसिक स्वास्थ्यप्रति संवेदनशील बनाउनुपर्ने बताएका हुन्।
सहप्राध्यापक सुक्रिता राईले आत्महत्या रोकथामका लागि परिवार र समुदायको सामूहिक प्रयास आवश्यक रहेको बताइन्। युवा अभियन्ता डहिला पाठकले संकटमा रहेका व्यक्तिले सहज रूपमा सहयोग माग्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्।
छलफलमा डा. निकेशमणि राजभण्डारी र रामपुकार शाहले मानसिक स्वास्थ्य समस्या समाधान तथा आत्महत्या रोकथाममा परिवार र समाजको सकारात्मक भूमिकाबारे धारणा राखे।
सम्मेलनमा आत्महत्या तथा मानसिक स्वास्थ्यसम्बन्धी समाचारमा जिम्मेवार पत्रकारिता, तथ्यमा आधारित सामग्री र संवेदनशील भाषाको प्रयोग गर्नुपर्नेमा पनि जोड दिइएकाे थियो। सञ्चारविज्ञ चुनबहादुर गुरुङ, पत्रकार रविराज बराल र मनोविद् अलिशा अधिकारीले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्ता संवेदनशील विषयमा विशेष जिम्मेवारी अपनाउनुपर्ने बताए।
सम्मेलनमा आत्महत्या रोकथाम तथा जिम्मेवार रिपोर्टिङसम्बन्धी छुट्टाछुट्टै कार्यशाला पनि सञ्चालन गरिएको थियो। एनएसआरसीकी अध्यक्ष विनिता निरौलाका अनुसार कार्यक्रममा आत्महत्या रोकथामका व्यावहारिक उपाय, सहयोग प्रणाली र सञ्चारमाध्यमको जिम्मेवारीबारे सहभागीलाई जानकारी दिइएको थियो।