साेलुखुम्बुको हुंगा खोलामा पहिरो खसेर ड्याम बनेपछि नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

महाकुलुङ गाउँपालिका– २ र ४ को सीमाक्षेत्रस्थित हुंगा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भदौ २६ गते बिहान करिब ७ बजे गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब एक सय  मिटर तल वडा नं. २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको हो। पहिरो खसेपछि खोलामा करिब एक सय मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। प्रहरीले घटनास्थलको अवस्थाबारे जानकारी संकलन गर्नुका साथै नदी तटीय क्षेत्रमा रहेका बस्ती तथा जलविद्युत् आयोजनालाई सतर्क गराएको छ।

हुंगा खोलामा रहेका गौरीशंकर हाइड्रोपावर, दुधकोशी– २ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुईवटा जलविद्युत् आयोजनालाई घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ। आयोजनामा कार्यरत कामदार तथा सवारीसाधनलाई समेत सुरक्षित स्थानतर्फ जान सूचित गरिएको छ।

पहिरोका कारण महाकुलुङ गाउँपालिका– २, बोदेलमा खोला थुनिएको थियो। उक्त खोलाको पानी सोताङ गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका र नेचासल्यान गाउँपालिका हुँदै दुधकोशी नदीमा मिसिएर खोटाङ र ओखलढुंगातर्फ बग्ने गर्दछ।

बिहान करिब ९:१० बजे पहिरोले बनेको ड्याममा पानी भरिएपछि पानी निकास हुन सुरु भएको प्रहरीले जनाएको छ। ड्याम फुट्ने वा पानीको बहाब अचानक बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोलाको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

सुझावित समाचार