अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग (एनभिएल)मा बिहीबार फाइनलमा प्रवेश गरेको छ । अन्नपूर्णले लिगमा १२ अंकका शीर्ष स्थानमा रहँदै अन्तिम दुई स्थान पक्का गरेको हो । लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेटमा २१–२५ ले पछि परेको अन्नपूर्णले बाँकी सेट आफ्नो पक्षमा राख्दै अन्तिम दुई स्थान सुरक्षित गरेको हो ।
अन्नपूर्णले दोस्रो सेटमा २५–२३ ले जितेको थियो । दोस्रो सेट आफ्नो पक्षमा राखेपछि उत्कृष्ट लयमा फर्किएको अन्नपूर्णले तेस्रो सेट २५–१४ ले जित्यो । सगरमाथा चौथो सेटमा फर्किने प्रयासमा देखिन्थ्यो । तर, अन्नपूर्णका खेलाडी सेट भइसक्दा सगरमाथाले चौथो सेट २५–२० ले गुमायो । अन्नपूर्णका एन्ख एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ दी म्याच’ घोषित भए । ६ टिम सहभागी लिगमा अन्नपूर्णको यो लगातार चौथो जित हो ।
पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवरजसँग ३–१ ले पराजित भएको थियो । अन्नपूर्णले दोस्रो खेलमा काठमाडौं रेड्सलाई ३–०, तेस्रोमा मधेश वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० ले हराएको थियो ।सगरमाथा लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । लिगमा सगरमाथा कर्णालीसँग ३–२ र काठमाडौं रेड्ससंँग ३–० ले चुकेको थियो । दुई खेल जितेको सगरमाथाले मधेशलाई ३–१ र खप्तडलाई ३–० ले हराएको थियो ।
मधेशलाई हराउँदै कर्णाली प्ले–अफमा
कर्णालीले लिगमा बिहीबार मधेशलाई ३–१ को सेटमा हराउँदै प्ले–अफमा स्थान सुरक्षित गरेको छ । कर्णाली प्रतिस्पर्धामा २५–२०, २५–२०, २१–२५ र २५–१९ ले विजयी भयो । चार जित र एक हार सामना गरेको कर्णालीले ११ अंक जोड्यो । अब कर्णालीले प्ले–अफमा काठमाडौंको सामना गर्नेछ । मार्की खेलाडी पहल गहतराज ‘म्यान अफ दी म्याच’ चुनिए । नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा सिंगल राउन्ड रोविन लिगका आधारमा चलिरहेको छ । शीर्ष दुई र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्ले–अफ खेल्नेछन् । लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपालमै पहिलोपटक भएको हो ।
काठमाडौं पाँचौँ सेटमा विजयी
एनभिएलको लिग चरणको अन्तिम खेलमा काठमाडौं रेड्सले खप्तड फाल्कोन्सविरुद्ध ३–२ सेटको जित निकालेको छ । राखेपको कभर्डहलमा पहिलो सेट १९–२५ ले गुमाएको काठमाडौंले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो । त्यसपछि तेस्रो सेटमा २०–२५ ले पछि परेको काठमाडौंले चौथो सेटमा २५–१९ ले बाजी मार्यो । पाँचौँ तथा निर्णायक सेटमा काठमाडौं १५–१३ ले विजयी हुँदै प्ले–अफका लागि स्थान पक्का गर्यो । जितसँगै पाँच खेलमा १० अंक जोडेको काठमाडौंले तेस्रो स्थानमा रहेर प्ले–अफ खेल्ने भएको छ । प्रतियोगितामा जितविहीन रहेको खप्तडले मात्र एक अंक जोड्न सक्यो ।