राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले गोरखा महाविपत्तिको पीडामा रहेको भन्दै बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग माग गरेका छन्।
बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा पीडित परिवारसँग भेटघाट गरेर फर्किएका सांसद बुर्लाकोटीले बेपत्ता आफन्तको पर्खाइमा धेरै परिवारको आँखा अहिले पनि बाटोतिर रहेको बताए। महाविपत्तिका कारण हजारौँ मानिसको अवस्था अज्ञात रहेको र पीडित परिवारको घरघरमा पुग्दा पीडा देखेर आफू भावविह्वल भएको उनको भनाइ छ।
पालुङटार नगरपालिका–५ बाखखोर क्षेत्रका ३६ जना बाढीपहिरोमा परेको उल्लेख गर्दै बुर्लाकोटीले बसबाट हामफालेर ६ जना बाँच्न सफल भएको, पाँच जनाको शव भेटिएको र २५ जनाको अवस्था अझै अज्ञात रहेको जानकारी दिए। ‘आमा र बुबा दुवै गुमाएका अवोध नानीबाबु भेट्दा निकै भावविह्वल भएको छु,’ उनले भने।
उनका अनुसार गोरखामा मात्रै ५१ जनाको अवस्था अझै अज्ञात छ। सरकारले खोज, उद्धार र राहतका काम गरिरहेको भए पनि विपत्तिको अवस्था हेर्दा थप जनशक्ति, उपकरण र स्रोतसाधनसहित खोज तथा उद्धार टोली परिचालन गर्न आवश्यक रहेको उनले बताए।
बुर्लाकोटीले बेपत्ताको खोजी कार्यलाई थप तीव्र बनाउन सरकारसँग आग्रह गर्दै विपद्को जोखिम रहेका स्थानमा बस्ती, घर तथा कार्यालय निर्माण गर्दा ध्यान दिनुपर्ने बताए।
‘महाविपत्तिमा खोज तथा उद्धारका लागि थप जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरिनुपर्छ। बेपत्ताको खोजकार्यलाई तीव्र बनाइनुपर्छ,’ उनले जोड दिए। उनले भविष्यमा बाढीपहिरोजस्ता जोखिमयुक्त क्षेत्रमा घर तथा कार्यालय निर्माण गर्ने प्रवृत्तिलाई रोक्दै सुरक्षित स्थानमा बस्ती विकास गर्नुपर्ने आवश्यकता औँल्याए।