कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्सा दिएसँगै आफूहरूको आधा जित भइसकेको दाबी गरेका छन् । उनले गगन थापालाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार नै नभएको दाबी गर्दै अदालतबाट आफूहरूले न्याय पाउनेमा विश्वस्त रहेको बताए ।
बिपीजयन्तीको अवसरमा बुधबार भक्तपुरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले भने, ‘गगन थापाजीले विशेष अधिवेशन बोलाउनुपर्यो भन्नुभयो । मैले विशेष अधिवेशन बोलाउन पाउँछ, अधिकार छ पार्टीको । त्यसका लागि को–को भाग लिने हो, सनाखत हुनुपर्यो । विनासनाखत गर्न पाइन्छ ? भनेको थिएँ । पहिला सभापति सुवर्णशमशेर हुँदा बोलाइएको हो । अहिले पार्टी सभापति म छु, मलाई थाहै छैन । बोलाइदिने ?’
थापाले अचानक विशेष महाधिवेशन बोलाएकाले स्वीकार्य नहुने उनले बताए । ‘मैलै भन्दा गगनले हुन्छ दाइ विचार गर्छु भनेका थिए । अचानक बोलाइदिए । खल्तीबाट बोलाएर हुन्छ ?’ देउवाको प्रश्न थियो ।
देउवाले थापा समूहले आफूहरूलाई आधिकारिकता नदिन अदालतमा दबाब दिइरहेको दाबी पनि गरे । ‘अब अहिले पनि के गरेर हुन्छ, कसलाई धेर के गरेर हुन्छ, कुनै पनि हालतमा पुनरावलोकनबाट कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्न कोसिस भइराखेको छ । तर, हामी कुनै हालतमा मान्दैनौँ । रुख चिह्न, चारतारे झन्डा नेपाली कांग्रेसको हामीले पाउनेछौँ,’ देउवाले भने ।
निर्वाचन आयोगका प्रमुखले ज्यान खतरामा भएपछि अद्यावधिक गरेको बताएको पनि देउवाले जिकिर गरे । ‘निर्वाचन आयोगका प्रमुखले मेरो ज्यानको खतरा भयो भनेको छ । मैले भनेको होइन । सबैले सुनेको कुरा हो । हामीले सर्वोच्चमा मुद्दा हाल्यौँ । चुनाव भइसक्यो के गर्ने ? भन्यो । हामी पुनरावलोकनमा गयौँ । पुनरावलोकनले निस्सा दियो हामीलाई । निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो,’ देउवाले भने ।