राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपतमा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई नचाहिएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘रास्वपालाई विपतमा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक चाहिएको छैन,’ लामिछानेले भनेका छन्, ‘शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्य चाहिएको छ।’
उनले विपत्तिमा परेका नागरिकको पीडा र आक्रोशलाई होच्याउने तथा सामाजिक सञ्जालमार्फत साइबर बुलिङ गर्ने आफ्ना पार्टीका सदस्यलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
विपत्तिका वेला शोक र पीडामा रहेका नागरिकको पक्षमा उभिनुपर्नेमा उनीहरूलाई होच्याउने, उनीहरूको चीत्कार र आक्रोशलाई गलत व्याख्या गर्ने तथा सामाजिक सञ्जालको आडमा ओठेजवाफ फर्काउने कार्य स्वीकार्य नहुने बताए ।
‘यदि रास्वपाको कुनै तहको सदस्य पदाधिकारी विपतमा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइयो भने त्यस्ता व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिनेछ,’ लामिछानेको भनाइ छ।
लामिछानेले विपत्तिमा परेका नागरिकको पीडा बुझ्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने प्रवृत्तिका व्यक्तिका लागि पार्टीमा कुनै ठाउँ नरहेकोसमेत बताएका छन्। ‘विपतमा परेका आफ्ना नागरिकको चीत्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयविहीनहरूका लागि कुनै ठाउँ छैन,’ उनले भने ।