‘आफन्त खोजेर आत्तिएका आँखालाई विध्वंसको आयतन नाप्ने फुर्सद हुँदैन, तुच्छ टीका–टिप्पणी बन्द गरौँ’

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चोक, चौतारा र सामाजिक सञ्जालमा पीडितमाथि तुच्छ टिप्पणी नगर्न नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकलाई विशेष सम्बोधन गर्दै सभापति लामिछानेले आशा निराशामा बदलिँदा उत्पन्न हुने आक्रोश नागरिकको नैसर्गिक अधिकार रहेको प्रस्ट पारे।

आफन्तको सास खोज्दै आत्तिएका आँखालाई प्राकृतिक विध्वंसको आयतन नाप्ने फुर्सद नहुने उल्लेख गर्दै उनले भने, ‘उनीहरूलाई त केवल एउटा कुरा चाहिएको छ– मेरो प्रियजनको सास बाँकी छँदै राज्य त्यहाँ पुगिदिओस्, उद्धार गरिदिओस्। यो आशा निराशामा बदलिँदा उत्पन्न हुने आक्रोश उनीहरूको नैसर्गिक अधिकार हो।’

राज्यसत्तासँग पीडामा रहेका नागरिकको आक्रोश सुन्ने, सहने र आँसु पुछ्ने फराकिलो छाती चाहिने बताउँदै लामिछानेले पीडितको अवस्था र मनस्थितिलाई सहानुभूतिका साथ महसुस गर्नु राज्यको दायित्व हुने प्रस्ट पारे।

‘यही रोस्टमबाट म सरकार र दलका सम्पूर्ण शुभेच्छुकहरूलाई गम्भीर अपिल गर्न चाहन्छु– यो महाविपतको समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक–चौतारोमा तुच्छ टीका–टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यै बन्द गरौँ,’ उनले भने।
 

सुझावित समाचार