नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को टेलिभिजन र ओटिटी प्रसारण अधिकार ३२ करोड ६८ लाखमा बिक्री गरेको छ । क्यानका सचिव पारस खड्काले ओटिटी अधिकारको विश्वव्यापी विजेता नेट टिभी प्रालि भएको बताए । नेट टिभीले यसका लागि क्यानलाई १८ करोड चार लाख रुपैयाँ तिर्नेछ ।
टेलिभिजन अधिकार नेपाल क्षेत्र विजेता हिमालय टेलिभिजन नेटवर्क प्रालि प्राप्त गरेको छ । यसका लागि हिमालयले १४ करोड ६४ लाख खर्च गरेको हो । नेपालबाहेक टेलिभिजनको प्रसारण भने स्टार स्पोर्टस्बाट हुँदै आएको छ । क्यानका अनुसार टिकटिङ अधिकार इसेवा लिमिटेडले पाएको छ । जसका लागि ८५ लाखमा सहमति भएको छ ।
सहमति भएका व्यावसायिक सर्तअनुसार टिकटिङबाट प्राप्त हुने आम्दानीको ९५ प्रतिशत क्यानलाई र पाँच प्रतिशत इसेवालाई हुनेछ । ‘हिमालय स्पोर्टस्ले कबोल गरेको यो रकम गत वर्षको प्रसारण अधिकार मूल्यभन्दा पाँच गुणाभन्दा बढी हो । यस वर्षका लागि तोकिएको न्यूनतम बोलकबोल रकमभन्दा झन्डै साढे दुई गुणा बढी हो,’ खड्काले भने ।
एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । दोस्रो संस्करणको विजेता लुम्बिनी हो । गत संस्करणमा लुम्बिनीले लगातार दुईपटक फाइनल पुगेको सुदूरपश्चिम रोयल्सलाई हराएको थियो । एनपिएलका लागि खेलाडी अक्सन भइसकेको छ । तेस्रो संस्करणको एनपिएल आगामी २६ अक्टोबरदेखि २१ नोभेम्बरसम्म हुनेछ ।