शव पहिचान नभएपछि डिएनएका लागि नमुना दिँदै बेपत्ताका परिवार

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

कोहलपुर नगरपालिका– ११, लोकनगरका ५९ वर्षीय अमरसिंह थारूकी ३० वर्षीया छोरी अनिता चौधरीको सोमबार भेरी अस्पतालमा भेटिँदा मलिन अनुहार थियो । बुबा अमरसिंह १० भदौमा भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएपछि डिएनए परीक्षणका लागि उनी रगत दिन भेरी अस्पताल आएकी हुन् । 

अमरसिंह नुवाकोटको पहिरोबेँसी शान्ति बजारमा मजदुरी गर्न गत ८ जेठमा त्यता गएका थिए । ‘सास र लास नपाएपछि शव पहिचानका लागि डिएनए परीक्षणका लागि रगत दिन आएको हुँ,’ उनले भनिन्, ‘बुबाको डिएनएका लागि छोरा वा छोरीको रगत चाहिने भएकाले दिन थालेको छु ।’ 

नुवाकोटको पहिरोबेँसीस्थित शान्तिबजारमा मजदुरी गर्न अमरसिंह यसअघि पनि गएका थिए । ६ महिना काम गरेर फर्किएका उनी पुनः सोही ठाउँमा गएको अनिताले बताइन् । अमरसिंहसँगै लोकनगरका ६ जना प्रो सोलुसन हब नामक कम्पनीमा काम गर्न गएका थिए । बाढीले सबैलाई बगाए पनि महेश थारू र कबिर थारूको शव पहिचान भई अन्तिम संस्कारसमेत भइसकेको छ । ‘दुईजनाको शव चितवनमा भेटियो । हातमा ट्याटु भएकाले पहिचान गर्न सजिलो भयो,’ अनिताले भनिन् । 

कोहलपुर नगरपालिका– ११, लोकनगरकी मीना थारूले पनि बुबाको डिएनए परीक्षणका लागि भेरी अस्पतालमा रगत दिइन् । उनका ५४ वर्षीय बुबा आशारा थारू र १४ वर्षीय भाइ पृथ्वी थारू भोटेकोशी बाढीमा हराएका छन् । पृथ्वी बाबुको साथ लागेर नुवाकोटको पहिरोबेँसीस्थित शान्तिबजार गएका थिए । भाइको डिएनए परीक्षणका लागि आमाले रगत दिएको बताउँदै उनले बुबाका लागि आफूले रगत दिएको बताइन् । ‘बुबाको डिएनएका लागि मबाहेक अरूको नहुने भयो,’ उनले भनिन्, ‘भाइको डिएनए परीक्षण गर्न आमाले रगत दिइसक्नुभयो ।’ 

See More On

सुझावित समाचार