हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

बेनी नगरपालिका– २, खबरानिवासी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका नातिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मनकुमारीकी छोरीका छोरा २६ वर्षीय आशिष बरुवाल रहेका छन्। प्रहरीले उनलाई घटनापछि फरार भएको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीका अनुसार सोमबार बिहान करिब साढे ११ बजे बरुवालले मनकुमारीमाथि धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएकी मनकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको टोली परिचालन गरिएको थियो।

खोजतलासका क्रममा बरुवाललाई बेनी नगरपालिका– २ स्थित हाडेभिरबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान तथा प्रमाण संकलनको काम अघि बढाएको जनाएको छ।

सुझावित समाचार