पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा कर्णाली शिवराजले उत्कृष्ट लयमा प्रतिस्पर्धा गरिरहेको छ । कर्णालीले लिगमा लगातार दोस्रो जित निकालेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतबार भएको राउन्ड रोबिन लिगको आफ्नो दोस्रो खेलमा कर्णालीले खप्तड फाल्कोन्सलाई ३–० को सोझो सेटमा हरायो । यसअघि शुक्रबार कर्णालीले पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
खप्तडको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा खप्तड सगरमाथा स्म्यासर्ससँग सोझो सेटमा पराजित भएको थियो । कर्णालीले पहिलो खेलको तुलनामा दोस्रो खेलमा सहज प्रतिद्वन्द्वी पायो । अन्नपूर्णसँगको प्रतिस्पर्धामा कर्णालीले जित निकाल्न चार सेटसम्म प्रतिस्पर्धा गरेको थियो । अन्नपूर्णका तीन मंगोलियाका राष्ट्रिय खेलाडीको उत्कृष्ट प्रदर्शनमा कर्णालीले पहिलो खेलमा जित निकाल्न संघर्ष गरेको थियो ।
तर, तुलनात्मक रूपमा खप्तड कमजोर देखिएपछि कर्णालीले खेल २५–१९, २५–१९ र २५–१९ को सेटमा आफ्नो आफ्नो पक्षमा पार्यो । कर्णालीले दुई खेलबाट ६ अंक जोडेको छ । दुवै खेल गुमाएको फाल्कोन्स अंकविहीन छ । अब कर्णालीले सोमबार सगरमाथा स्म्यासर्सविरुद्ध खेल्नेछ । दोस्रो खेलमा खप्तडले मधेश वारियर्सको सामना गर्नेछ ।
अन्नपूर्णको पहिलो जित
आइतबार भएको पहिलो खेलमा अन्नपूर्णले पहिलो जित निकाल्यो । मंगोलियन खेलाडी हाबी बनेको खेलमा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो । अन्नपूर्णले खेल २५–२३, २८–२६ र २५–२३ ले आफ्नो पक्षमा पा¥यो । काठमाडौंको यो पहिलो हार हो । काठमाडौंले आफ्नो पहिलो खेलमा मधेशलाई ३–२ ले हराएको थियो । मिडल ब्लरक हिमाल सुनारी मगर मार्की तथा कप्तान रहेको अन्नपूर्णले मंगोलियाबाट सेटर तुुर्मान्दख गंखुयाग, इन्ख इर्डेन जर्गल्टगट र उरानबायर मुन्ख्बायरलाई अनुबन्ध गरेको छ ।
विदेशी तीन खेलाडी चम्किएपछि अन्नपूर्णले सहज जित निकाल्यो । उत्कृष्ट प्रदर्शन गरेका उरानबायर प्लेयर अफ दी म्याच बने । प्रशिक्षक रमेश केसीले पहिलो सेटमा मंगोलियन तीन खेलाडीसहित मार्की हिमाल, रवि केसी, सुरेन्द्र केसी तथा जितबहादुर सार्कीलाई सेटमा खेलाएका थिए ।
लय गुमाएका रविलाई भने प्रशिक्षक केसीले पहिलो सेटमै निकाले । त्यसपछि टोलीले सानदार प्रदर्शन गरेको थियो । ६ टोली सहभागी रहेको फ्रेन्चाइज प्रतियोगिता सिंगल राउन्ड रोबिन लिग पद्धतिअनुसार हुनेछ । लिग विजेताले सोझै फाइनलमा स्थान बनाउनेछ । त्यस्तै, दोस्रो र तेस्रो हुनेले फाइनलमा स्थान बनाउन प्ले अफ खेल्नेछन् ।