भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको व्यवस्थापनका लागि विदुर नगरपालिकाले तत्काल राहत तथा पुनर्स्थापनाका विभिन्न कार्यक्रम अघि बढाउने निर्णय गरेको छ। विदुर नगर कार्यपालिकाको १३४औँ बैठकले भदौ २१ गते बाढीका कारण बस्न योग्य घर गुमाएका नगरवासीलाई तत्काल घर भाडामा लिएर बस्न प्रतिपरिवार १० हजार रुपैयाँ घरभाडा रकम उपलब्ध गराउने निर्णय गरेको हो।
नगरपालिकाका अनुसार प्रभावित परिवारलाई खाद्यान्नसँगै लत्ताकपडा, किचेन सेट, हाइजिन सेटलगायत आवश्यक सामग्रीसमेत उपलब्ध गराइनेछ। यस्तै, कोठा भाडामा लिँदा वा दिँदा प्रचलित दरभन्दा बढी रकम असुल गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ। दीर्घकालीन व्यवस्थापनका लागि तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र दाताको सहकार्यमा अस्थायी आवास निर्माण गरी प्रभावित परिवारको पुनर्स्थास्थापना गर्ने निर्णय पनि गरिएको छ।
बाढीका कारण विद्यालय सञ्चालनमा समेत असर परेकाले अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) नरहेका विद्यालयमा भदौ २४ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय भएको छ। होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई समेत केही दिनभित्र अन्यत्र व्यवस्थापन गरी पुनः सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ।
विदुर नगरपालिकाभित्र सञ्चालित होल्डिङ सेन्टरमा रहेका अन्य जिल्ला तथा पालिकाका भोटेकोशी बाढी प्रभावित नागरिकलाई सम्बन्धित जिल्ला तथा पालिकामार्फत व्यवस्थापन गर्न आग्रह गर्ने निर्णयसमेत नगर कार्यपालिकाले गरेको छ।
नगरपालिकाका अनुसार यी निर्णय बाढीबाट सिर्जित तत्कालीन समस्या समाधानसँगै प्रभावित नागरिकको अस्थायी आवास, राहत, शिक्षा र पुनर्स्थापनालाई व्यवस्थित गर्ने उद्देश्यले गरिएको हो। निर्णय सार्वजनिक गर्दै रणबहादुर थापामगर, अधिकृत छैटौँले सम्बन्धित सबै सरोकारवालालाई निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन्।