नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने भएको छ। आज बसेको बैठकले पार्टीको १५औँ महाधिवेशनसहित समसामयिक विषयमा छलफल गर्दै केही निर्णय गरेको छ।
बैठकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणमा पार्टीका तर्फबाट थप सहयोग गर्ने निर्णय गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार विपत् प्रभावित क्षेत्रमा पार्टीका संरचना तथा भ्रातृ संगठनलाई थप परिचालन गरिनेछ। साथै, बाढीपहिरो व्यवस्थापनका लागि सरकारलाई आवश्यक सुझाव दिने निर्णय पनि बैठकले गरेको छ।
बाढीपहिरोका कारण प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई प्राथमिकता दिनुपर्ने भन्दै कांग्रेसले आगामी भदौ २४ गते तय गरिएको वडा अधिवेशनको मिति पुनर्विचार गर्न माग गरेको छ।
यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट उठाउने विषयमा कांग्रेसले आवश्यक सुझाव दिने निर्णय गरेको छ।
महाधिवेशनका सन्दर्भमा सदस्यता नवीकरण गरेका तर विवरण अध्यावधिक गर्न छुटेका सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय बैठकले गरेको छ। प्रवक्ता चालिसेका अनुसार यो व्यवस्था अनुशासन उल्लंघन गरेका, पार्टी परित्याग गरेका वा निधन भएका व्यक्तिका हकमा भने लागू हुनेछैन।
महाधिवेशनसम्बन्धी थप निर्णयका लागि कार्यसम्पादन समितिको बैठक भोलि पुनः बस्ने कांग्रेसले जनाएको छ।