नेपाल एसिसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार मलेसियाको बायुमास ओभल मैदानमा सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले साउदी अरेबियालाई पाँच विकेटले हरायो।
टस जितेर ब्याटिङ गरेको साउदी अरेबियाले चार बलअघि अलआउट हुँदा १९१ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपालले ४१ ओभरमा पाँच विकेट गुमाएँदै १९३ रन बनायो।
नेपालका लागि अलराउन्डर गुल्सन झाले ३५ बलमा अविजित सर्वाधिक ४४ रन बनाए। उनले समान तीन चौका र छक्का प्रहार गरेका हुन्। ईशान पाण्डेले ४० रन बनाए। उनले ५९ बलमा दुई चौका प्रहार गरे। देव खनालले ५८ बलमा समान एक चौका र छक्कासहित ३९ बनाएका हुन्।
पूर्वकप्तान रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन बनाए। दीपेन्द्रसिंह ऐरीले भने पाँच रन मात्रै बनाउन सके।
देव र ईशानले तेस्रो विकेटका लागि १०५ बलमा सर्वाधिक ७३ रनको साझेदारी गरे। छैटौँ विकेटका लागि गुल्सन र रोहितबिच अविजित ६१ रनको साझेदोरी भएपछि नेपाल लगातार तेस्रो जित निकाल्न सफल भएको हो।
साउदीका बलर मुहम्मद अतिफ र इस्तिआक महमदले समान दुई विकेट लिए। मोहम्मद हिशाम शेखले एक विकेट हात पारे।
यसअघि टस जितेको साउदीका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र दुई छक्का प्रहार गरे। मुहम्मद अतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रनको योगदान गरे।
दोस्रो विकेटका लागि साउदीका अतिफ र वाहिदले सर्वाधिक ९४ रनको साझेदारी गर्दै ठुलो स्कोर बनाएका थिए। २.१ ओभरमा पहिलो विकेट गुमाएको साउदीका दुई खेलाडी २२.६ ओभरसम्म क्रिजमा रहँदै ९४ रन बनाएका थिए।
नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन विकेट लिए। ललित राजवंशीले दुई तथा शेर मल्ल र गुल्सन झाले समान एक विकेट लिए।
नेपाल प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा पुगेको हो। यसअघि नेपालले समूहमा बहराइन र मलेसियालाई पराजित गर्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेको थियो। अब, नेपालले समूहको अन्तिम खेलमा हङकङसँग खेल्नेछ।
१० टिम सहभागी प्रतियोगिताको च्याम्पियन टिम एसिया कपमा छनोट हुनेछ। नेपाल सन् २०२३ पछि एसिया कप खेल्ने योजनामा छ। त्यति वेला नेपालले मूलपानी मैदानमा भएको फाइनलमा युएईलाई हराएको थियो।