पूर्वाधार र प्रशिक्षणमा सहयोग बढाउने भारतको प्रतिबद्धता

मंगलबार, ८ मंसिर, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा खेलकुद पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणमा सहयोग बढाउने प्रतिबद्धता गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा मोदीले क्रिकेटसहित खेलकुद क्षेत्रमा सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘खेलकुद, विशेषगरी क्रिकेटमा पनि हामी नेपालमा पूर्वाधार विकास र खेलाडीहरूको प्रशिक्षणमा सहयोग बढाउनेछौँ,’ प्रधानमन्त्री शाहसँगको भेटपछि सम्बोधनका क्रममा मोदीले भने ।

नेपालले भारतसँग लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरका क्रिकेट रंगशाला निर्माण, राष्ट्रिय टोली तथा युवा खेलाडीको प्रशिक्षण र प्राविधिक सहयोगका विषय उठाउँदै आइरहेको छ । पोखरा र फाप्लामा प्रस्तावित क्रिकेट रंगशाला निर्माणका लागि भारतको प्राविधिक तथा आर्थिक सहयोग जुटाउने विषय पनि नेपालको प्राथमिकतामा छ । 

भारतको बेंग्लोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा नेपाली खेलाडीको प्रशिक्षणलाई नियमित बनाउने र युवा खेलाडीका लागि फेलोसिप कार्यक्रम विस्तार गर्ने विषयमा पनि नेपालले चासो देखाउँदै आएको छ । 

एकेडेमी स्थापनामा सहयोग हुने
भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न तथा राष्ट्रिय र प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास गर्न सहयोग गर्ने भएको छ । ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त भिजन डकुमेन्टमा खेलकुदको विकास र सम्बन्धित पूर्वाधार निर्माणमा दुवै देशले सहकार्य गर्ने उल्लेख छ ।

डकुमेन्टमा नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीहरूलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीहरूमा तालिम लिने अवसर प्रदान गरिने जनाएको छ । क्रिकेटका अतिरिक्त ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्सजस्ता अन्य खेलमा पनि यस्तै अवसरको खोजी गरिने सहमति भएको छ । नेपालमा आधुनिक बहुखेलकुद केन्द्रहरूको विकास गर्ने सम्भावनासमेत खोजिने सहमतिमा उल्लेख छ । 

सुझावित समाचार