रसुवा बाढी : खोज, उद्धार र राहत कार्य तीव्र

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको जनाएको छ। नेपाल प्रहरीको विपत् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रका अनुसार प्रभावित क्षेत्रमा सत हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ।

भदौ १९ गते बिहान ११ बजेसम्मको विवरणअनुसार बाढीका कारण ६५ वटा प्रहरी कार्यालय प्रभावित भएका छन्। तीमध्ये २५ प्रहरी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन्।

१,२९४ जनाको मृत्यु, ३,४६५ बेपत्ता
प्रहरीका अनुसार बाढीमा परी हालसम्म एक हजार २९४ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये ५१० पुरुष, ३१७ महिला र ४६७ जना आंशिक अंग रहेका छन्। हालसम्म एक हजार २८६ वटा शवको मुचुल्का तयार पारिएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट घाइते तथा अन्य गरी कुल आठ हजार ३१७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये सात हजार १५६ जना नेपाली नागरिक रहेका छन्। तीमध्ये चार हजार ६७२ पुरुष र दुई हजार ४८४ महिला छन्।

त्यस्तै, एक हजार १६१ जना विदेशी नागरिकको उद्धार गरिएको छ। उद्धार गरिएका विदेशी नागरिकमा ९४९ पुरुष, १५६ महिला र ५१ जनाको लिंग नखुलेको विवरण छ।

प्रहरीका अनुसार बाढीपछि तीन हजार ४६५ जना अझै बेपत्ता छन्। बेपत्तामध्ये दुई हजार ८४७ जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन्। नेपाली बेपत्तामध्ये दुई हजार ३६९ पुरुष र ४७८ महिला छन्। विदेशी बेपत्तामध्ये २७४ पुरुष र ३४४ महिला रहेका छन्।

मृतक पहिचानका लागि डिएनए नमुना संकलन
मृतकको पहिचानका लागि प्रहरीले दुई हजार १०६ वटा डिएनए नमुना संकलन गरेको जनाएको छ। संकलित नमुनामध्ये एक हजार २६० वटा मृतकका र ८४६ वटा आफन्तका रहेका छन्।

पहिचान हुन नसकेका एक हजार १९५ जनाको विवरण वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, एक हजार ३० शवलाई सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ।

होल्डिङ सेन्टरमा ३,६५५ जना
बाढी प्रभावित तथा विस्थापित नागरिकका लागि सञ्चालन गरिएका विभिन्न होल्डिङ सेन्टरमा हाल तीन हजार ६५५ जना बसोबास गरिरहेका छन्।

प्रहरीले राहत तथा उद्धारसँगै समुदायस्तरमा जनचेतनामूलक कार्यक्रमलाई समेत निरन्तरता दिएको जनाएको छ। सामुदायिक प्रहरी सेवा केन्द्रमार्फत हालसम्म १०६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रममा ४१ हजार ७२६ जनाको सहभागिता रहेको प्रहरीको विवरणमा उल्लेख छ।

प्रहरीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन, विस्थापितको व्यवस्थापन र समन्वयका कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

सुझावित समाचार