‘त्रिशूली ३ ए’मा दुईजना सुरक्षित भेटिएपछि सरकारले भन्यो– सास रहुन्जेल आस रहन्छ, प्रयास जारी छ

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी–त्रिशूली बाढी आएको १० दिनपछि माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुईजनाको सकुशल उद्धार भएपछि अन्य जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरू पनि जीवितै भेटिने आशा बलियो बनेको छ।

शुक्रबार बिहान माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनको उद्धार गरिएको हो। भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि उनीहरू आयोजनाको सुरुङभित्रै थुनिएका थिए।

दुईजनाको जीवितै उद्धार भएपछि रसुवागढी र चिलिमे जलविद्युत् केन्द्रका भूमिगत विद्युतगृह तथा माथिल्लो त्रिशूली– १, अपर त्रिशूली– ३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरू पनि सकुशल रहेको आशा बढेको छ।

सरकारले प्रभावित अन्य सुरुङमा पनि उद्धार कार्य निरन्तर भइरहेको जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सामाजिक सञ्जालमार्फत ‘सास रहुन्जेल आस रहन्छ’ भन्दै प्रभावित सबै सुरुङमा उद्धारका प्रयास जारी रहेको जनाएको हो।

मन्त्रालयले सबैको प्रयास र प्रार्थना जारी राख्न आग्रह गर्दै उद्धारका क्रममा आशा नछोडिएको र प्रयास नरोकिएको बताएको छ।

पूर्वऊर्जामन्त्री कुलमान घिसिङले पनि माथिल्लो त्रिशूली– ३ एबाट कर्मचारीहरूको जीवितै उद्धार सुरु भएको खबरले आफूलाई खुसी र राहतको अनुभूति भएको बताएका छन्।

घिसिङले अन्य आयोजनाका सुरुङमा फसेका व्यक्तिहरू पनि सकुशल रहेको आशा थप बलियो भएको उल्लेख गर्दै सम्बन्धित सबै निकायलाई तत्काल खोज तथा उद्धारमा केन्द्रित हुन आग्रह गरेका छन्।
 

सुझावित समाचार