चीनद्वारा ल्हासामा नेपाललाई दुईवटा बेलिब्रिज हस्तान्तरण, कोरला नाकाबाट आजै आउने

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

नेपालका बाढी प्रभावित क्षेत्रमा तुरुन्त जडान गर्ने गरी चीन सरकारले एक सय  मिटर लम्बाइका दुईवटा बेलिब्रिजका आवश्यक सामग्री हस्तान्तरण गरेको छ। भदौ १० को भोटेकोशी बाढीले क्षति पुर्याएका संरचना पुनर्निर्माणका लागि ल्हासास्थित महावाणिज्य दूतावासलाई चीन सरकारले आज सामग्री हस्तान्तरण गरेको हो । 

चीनको तिब्बत स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँग नेपालले ३० वटा बेलिब्रिज उपलब्ध गराउन आग्रह गरेबमोजिम पहिलो चरणमा यी दुई बेलिब्रिज प्राप्त भएका हुन्। चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा शुक्रबार आयोजित एक विशेष समारोहका सामग्री आदान–प्रदान सम्झौतामा हस्ताक्षर भएको छ।

नेपालका तर्फबाट ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनका तर्फबाट तिब्बत स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक ओउयाङ जिविङले हस्तान्तरण सम्झौतामा हस्ताक्षर गरेका छन्। कार्यक्रममा दुवैतर्फ कूटनीतिक तथा सरकारी अधिकारीहरूको उपस्थिति थियो।

हस्तान्तरण गरिएका बेलिब्रिजका सामग्रीहरू उपल्लो मुस्ताङस्थित कोरला (लिजी) सीमा नाकामा पुगेको महावाणिज्य दूतावासले जनाएको छ। सामग्रीहरू आजै नेपाली पक्षले बुझिलिने छ। पुलको शीघ्र र प्रभावकारी जडान सुनिश्चित गर्न चिनियाँ पक्षले आवश्यक प्राविधिक जनशक्तिसमेत उपलब्ध गराएको छ। चिनियाँ प्राविधिक टोली छिट्टै नेपाल आइपुग्ने जानकारी दिइएको छ।

प्राप्त सामग्रीहरूमा बेली प्यानल, स्टिफनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेली पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बिम, च्यानल स्टिल तथा पाइप वेल्डिङका सामानहरू छन्। चीनले बाँकी बेलिब्रिजहरू पनि क्रमशः उपलब्ध गराउँदै जाने वचन दिएको छ।
 

सुझावित समाचार