विपत् व्यवस्थापनका लागि राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरिनुपर्छ : लामिछाने

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि दीर्घकालीन रूपमा राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरिनुपर्ने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा उनले राष्ट्रिय र राजनीतिक सहमतिमा विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनमा दीर्घकालीन योजना बनाउन सकिने बताएका हुन् ।

बैठकपछि प्रवक्ता जगदीश खरेलले भने, ‘सभापतिले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरिनुपर्छ भन्नुभयो । त्यसलाई बैठकले पनि समर्थन गरेको छ ।’ सभापति लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र निर्णयबारे जानकारी गराएका थिए । सो क्रममा लामिछानेले पछिल्लो विपत् व्यवस्थापनमा सम्पूर्ण राजनीतिक दलहरूबाट ऐक्यबद्धता व्यक्त भएको बताएका थिए ।

बैठकमा बाढी प्रभावित क्षेत्रमा जारी खोजी, उद्धार, राहत तथा व्यवस्थापनबारे पनि छलफल भएको थियो । तीनै तहका सरकारले समन्वयमा काम गर्नुपर्ने र तीनै तहका सरकारलाई रास्वपाको साथ रहेको खरेलले जानकारी दिए । खोजी, उद्धार तथा राहतका क्रममा जहाँ जहाँ समस्या देखिएको छ, ती समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको पनि खरेलले जानकारी दिए । 

रास्वपा सभापति रवि लामिछाने र भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङबिच टेलिफोन वार्ता भएको छ । तामाङले सभापति लामिछानेलाई टेलिफोन गरी रसुवा बाढीपछि उत्पन्न विपत्तिमा सिक्किम नेपालको साथमा रहेको बताए । ‘तपाईंहरूलाई आपत् पर्दा हामी यहाँ छौँ,’ उनले भने ।

सुझावित समाचार