बाढीले घाइते बनाएकामध्ये २३० जना उपचारपछि घर फर्किए, ७० उपचाररत

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

विनाशकारी भोटेकोशी बाढीमा परी घाइते अवस्थामा उद्धार गरेर अस्पताल भर्ना गरिएकामध्ये अधिकांश डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार घाइते ३०४ जनालाई विभिन्न १७ अस्पतालमा उपचार थालिएको थियो, उनीहरूमध्ये २३० जना उपचारपछि डिस्चार्ज भएका छन् । चारजनाको भने उपचारको क्रममा मृत्यु भएको थियो ।

हाल ७० घाइते उपचाररत छन् । उनीहरूमध्ये पाँचजनालाई आइसियूमा राखेर उपचार भइरहेको छ । काठमाडौंस्थित शिक्षण अस्पतालमा ३०, ट्रमा सेन्टर र प्रसूतिगृहमा १२–१२, वीरमा पाँच, आयुर्वेद चिकित्सा अस्पतालमा तीन, ग्रान्डीमा दुइै तथा वीरेन्द्र सैनिक, मनमोहन शिक्षण, एपिएफ, चिरायु, बिएन्डबी र त्रिशूली अस्पतालमा एक–एकजनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । बाढीपछि उपचारका लागि २८ वटा आपत्कालीन उपचार टिम प्रभावित क्षेत्रका अस्पतालमा परिचालन भएको र हाल सेवा सहज भएको मन्त्रालयले जनाएको छ । नुवाकोट, रसुवा र धादिङका स्थानीय स्वास्थ्य संस्थाका सहित १४३ चिकित्सक हाल बाढी प्रभावित क्षेत्रमा खटिएका छन् । 

बाढीमा १३ स्वास्थ्यकर्मी र सात महिला स्वास्थ्य स्वयंसेविका पनि बेपत्ता 
बाढीबाट तीन डाक्टर, ६ नर्ससहित १३ स्वास्थ्यकर्मी पनि सम्पर्कविहीन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, रसुवामा कार्यरत सात महिला स्वास्थ्यस्वयंसेविका पनि सम्पर्कविहीन छन् । उनीहरू स्थानीय वडा तथा स्वास्थ्यचौकीहरूमा कार्यरत थिए । मन्त्रालयका अनुसार बाढीले नुवाकोट र रसुवाका ६ वटा स्वास्थ्य संस्थामा क्षति पुर्याएको छ । बाढीले केही स्वास्थ्य संस्थामा पूर्ण तथा केहीमा आंशिक क्षति भएको छ । त्यसैले १० वटाभन्दा बढी होल्डिङ सेन्टरमा समेत स्वास्थ्य डेक्स राखिएको छ । नुवाकोटका अधिकांश घाइतेको त्रिशूली अस्पतालमा उपचार व्यवस्था मिलाइएको छ । यहाँ काठमाडौंबाट गएको ५० भन्दा बढी स्वास्थ्यकर्मीको टिम परिचालन गरिएको छ । 

See More On

सुझावित समाचार