बाढीपीडितका लागि अमेरिकी कम्पनी एनभिडियाले दियो डेढ अर्ब

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

अमेरिकी एआई जायन्ट कम्पनी एनभिडियाले भोटेकोशी बाढीपीडितका लागि भन्दै नेपाललाई डेढ अर्ब रुपैयाँ सहयोग दिएको छ । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हवाङले पठाएको एक करोड अमेरिकी डलर बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको हो ।

एनभिडियाले हिमालयन बैंक लिमिटेडमा रहेको सरकारी खातामा उक्त रकम पठाएको हो । बैंकले बिहीबार अबेर अर्थ मन्त्रालयमा इमेल पठाएर एनभिडियाबाट राहतकोषमा एक करोड डलर प्राप्त भएको पुष्टि गरेको हो । बिहीबारको विनिमयदरअनुसार उक्त सहयोग रकम एक अर्ब ५१ करोड ६६ लाख रुपैयाँ हुन आउँछ ।

एनभिडियाले तीन दिनअघि बाढी पीडितको उद्धार तथा राहतमा सघाउन सहयोग पठाउने भन्दै विस्तृत विवरण माग गरेको थियो । अर्थ मन्त्रालयले आवश्यक विवरणहरू पठाएको थियो । तीन दिनपछि एक करोड अमेरिकी डलर सहयोग प्राप्त भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । निजी कम्पनीबाट प्राप्त भएको हालसम्मकै सबैभन्दा ठुलो सहयोग भएको सचिवालयको दाबी छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार एक भिडियो सन्देश सामाजिक सञ्जालमा राखेर एनभिडियाका प्रमुख कार्यकारी अधिकृत हवाङलाई एक करोड डलर सहयोगका लागि धन्यवाद दिएका छन् । यसबाट अरूसमेत प्रेरित हुनुपर्ने बताएका छन् । अन्यबाट समेत अपेक्षा गरिएको आसय व्यक्त गरेका छन् ।

कसरी दियो एनभिडियाले यति ठुलो रकम ?
अर्थमन्त्रीको सचिवालयअनुसार अमेरिकामा रहेको एनभिडियाको मुख्यालयमा दुई नेपाली पनि काम गर्छन् । उनीहरूले नेपालमा भोटेकोशी बाढीले विध्वंस मच्चाएपछि आफ्ना सहकर्मी साथीहरूलाई सहयोगका लागि आग्रह गरेका थिए । उनीहरूको आग्रहपछि उक्त छलफल कम्पनीको व्यवस्थापन तहसम्मै पुग्यो । पछि एनभिडियाका प्रमुख हवाङले दुई नेपालीलाई बोलाएर सहयोगको आवश्यकता र माध्यमका बारेमा जानकारी मागेका थिए । उनीहरूले ५० लाख अमेरिकी डलर सहयोग गर्न सुझाएको भए पनि कम्पनीले एक करोड डलर सहयोग गर्ने निर्णय लिएको अर्थमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

सवा १० अर्ब पुग्यो राहत कोषमा
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सवा १० अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो समय आमसर्वसाधारण, उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्थालगायतले कोषमा उल्लेखीय रकम सहयोग गरिरहेका छन् । भोटेकोशी बाढी गएपछि हालसम्म आठ अर्ब ६७ करोड ७५ लाख रुपैयाँ रकम जम्मा भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । यसअघि कोषमा २ अर्ब १७ करोड रुपैयाँ मौज्दात थियो ।

सुझावित समाचार