रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ०५:०० बजेसम्म एक हजार १२७ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा ४५ जना, नुवाकोटमा १५५ जना, धादिङमा ५९ जना, चितवनमा ३४८ जना, गोरखामा ६६ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २१७ जना, नवलपरासी पश्चिम १९० जना र भारतमा नाैजना गरी एक हजार १२७ जनाको शव फेला परेको हो ।
फेला परेको शवहरूमध्ये एक हजार ११३ को जाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ । साथै, पहिचान नभएको ९११ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९१२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूबाट ६ हजार ५४१ जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएका चार हजार ८५८ जनाको खोजी कार्य भइरहेको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत गरिरहेको छ ।