राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपतपछिको पुनर्निर्माण, जलवायु अनुकूलन तथा जोखिम न्यूनीकरणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने प्रक्रिया अघि बढाउन छलफल आयोजना गरेको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले जारी गरेको निमन्त्रणापत्रमा गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढी–पहिरोलगत्तै बसेको सर्वदलीय बैठकले नेपालमा विपतकाे दिगो समाधान र पूर्वतयारीका विषयमा १०बुँदे साझा संकल्प पारित गरेको उल्लेख छ।
साझा संकल्पको बुँदा नम्बर १० अनुसार विपत् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कामलाई तत्कालीन राहत तथा प्रतिक्रियामा मात्र सीमित नराखी दीर्घकालीन र दिगो समाधान खोज्नुपर्ने रास्वपाको भनाइ छ।
यही उद्देश्यले ‘संसदीय समिति’ अर्थात् उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गरी विपतपछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपत् नीतिमा आवश्यक सुधार तथा सरकारका कामकारबाहीमा निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्ने सहमति भएको पत्रमा जनाइएको छ।
संयन्त्र गठनको प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्न भदौ १६ गते दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ। रास्वपाले सम्बन्धित दल तथा सरोकारवालालाई बैठकमा उपस्थित हुन आग्रह गरेको छ। निमन्त्रणापत्र प्रवक्ता जगदीश खरेलको हस्ताक्षरसहित जारी गरिएको हो। आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरूको उपस्थिति रहनेछ।
