खाडी देशहरूलाई अमेरिका र इजरायलविरुद्ध उभिन खामेनीको आह्वान

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

इरानका सर्वोच्च नेता मोजताबा खामेनीले पश्चिम एसियाली मुलुकहरूलाई आफ्ना शत्रुविरुद्ध एकजुट हुन आह्वान गरेका छन् । पश्चिम एसियामा युद्ध सुरु भएको ६ महिनापछि जारी गरिएको लिखित सन्देशमा सोमबार मोजताबाले अमेरिका र इजरायलतर्फ संकेत गर्दै मुलुकहरूलाई ‘आफ्नो वास्तविक शत्रुलाई चिन्न, तिनको योजना बुझ्न र तिनको सामना गर्न’ आग्रह गरे । उनले इस्लामिक राष्ट्रहरूले सामना गरिरहेका चुनौतीहरूको समाधान ‘मित्रता’ र ‘सहयोग’मा निहित रहेको बताए । युद्धको सुरुवातमा अमेरिकी–इजरायली आक्रमणमा आफ्ना पिता अली खामेनी मारिएलगत्तै मोजतबा सर्वोच्च नेता बनेका थिए ।

आफ्नो नियुक्तिपछि उनले कुनै सार्वजनिक सम्बोधन गरेका छैनन् र अधिकारीहरूले उनको कुनै भिडियो वा अडियो पनि सार्वजनिक गरेका छैनन् । यद्यपि, मोजतबाले समय–समयमा लिखित विज्ञप्ति जारी गर्दै आएका छन्, जसलाई इरानको सरकारी टेलिभिजनले प्रसारण गरेको छ ।

द्वन्द्वको क्रममा, तेहरानले आफ्ना छिमेकी खाडी मुलुकहरूमाथि जवाफी आक्रमण गर्यो । तेहरानको दाबी थियो कि ती देशहरूमा रहेका अमेरिकी आधारहरू इरानमाथिको आक्रमणका लागि प्रयोग भइरहेका थिए ।

इरानले साउदी अरब, युएई, जोर्डन, कुवेत, कतार र बहराइनलगायत मध्यपूर्वभरि रहेका अमेरिकी सैन्य आधारहरूलाई निसाना बनायो, जसका कारण सम्बन्धमा तिक्तता आएको छ । सिया मुस्लिमहरूले पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइरहेको अवसरमा दिएको सन्देशमा मोजतबाले मुस्लिमहरूबिच द्वन्द्व सिर्जना गर्नेहरूले ‘शत्रुको स्वार्थ पूरा गर्ने काम गरिरहेको’ बताए । उनको आधिकारिक वेबसाइटका अनुसार उनले भने, ‘कुनै पनि पदमा रहेको व्यक्तिले जानी–नजानी वा जानाजान वा अन्जानमै मुस्लिमहरूबिच विभाजन ल्याउने र मुस्लिम समुदायमा द्वन्द्व सिर्जना गर्ने कुनै काम गर्छ भने उसले इस्लामका शत्रुहरूको स्वार्थ पूरा गरेको ठहरिन्छ ।’

उनले थपे, ‘इस्लामिक राष्ट्रहरूका समस्याको समाधान भनेको ऐक्यबद्धता, मित्रता र असल मार्गमा सहकार्य गर्नु हो ।’ इस्लामिक राष्ट्रहरूलाई गरिएको आह्वानका अतिरिक्त, खामेनीले इरानका नागरिकहरूलाई पनि सम्बोधन गर्दै आफ्ना मतभेदहरू पन्छाएर एकताबद्ध हुन आग्रह गरे । शुक्रबार व्यक्त गरेका विचारहरूसँग मिल्दोजुल्दो टिप्पणी गर्दै उनले भने, ‘इरानी जनतालाई पुनः यही सल्लाह छ कि उनीहरूले कुनै पनि हालतमा आपसमा मतभेद उत्पन्न हुन नदिऊन् ।’

See More On

सुझावित समाचार