नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पल्सर स्पोर्टस् अवार्ड, २०८२ अन्तर्गत वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाका मनोनयन सार्वजनिक गरेको छ ।
मञ्चले आइतबार पत्रकार सम्मेलनमार्फत चार विधाको मनोनयन सार्वजनिक गर्दा कराँतेका मात्र आठ खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् । यसपटक क्रिकेट, कराँते, बक्सिङ र एथलेटिक्सको चारै विधामा दबदबा छ । विधागत मनोनयनमा कराँते हाबी देखिएको छ । पुरुषतर्फ फरक चार खेलका खेलाडीबिच प्रतिस्पर्धा हुनेछ ।
वर्ष पुरुष खेलाडी
दीपेन्द्रसिंह ऐरी (क्रिकेट)
दीपेन्द्रले गत वर्ष नेपाललाई टी–२० विश्वकपमा छनोट गराउन निर्णायक भूमिका खेलेका थिए । उनले एसियन छनोट चरणमा लगातार पाँच खेलमा सिधा थ्रोमा रनआउट गर्दै विश्वकीर्तिमान बनाएका थिए । उनले गत वर्ष समग्रमा ६६२ रन तथा १५ विकेट लिएका थिए ।
चन्द्र थापा (बक्सिङ)
गत वर्ष चन्द्रले विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका थिए । यो सफलताप्राप्त गर्ने उनी पहिलो नेपाली मुक्केबाज हुन् । कांस्यसँगै उनले ७५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका थिए । कुनै नेपाली खेलाडीले व्यक्तिगत रूपमा जितेको अहिलेसम्मकै ठुलो पुरस्कार राशि थापाकै हो ।
आगामी १८ भदौमा हुने २३औँ संस्करणको पल्सर अवार्डअन्तर्गत वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोनयनमा कराँतेका सर्वाधिक ६ खेलाडी र दुई प्रशिक्षक परेका छन्
सोमबहादुर कुमाल (एथलेटिक्स)
सोमबहादुरले चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा आठ सय मिटरमा रजत जितेका थिए । उनले चीनमा सम्पन्न एसियन इन्डोर च्याम्पियनसिपमा १ मिनेट ५९.४६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । यसैगरी, दोस्रो पोखरा एथलेटिक्स मिटमा चार सय र आठ सय मिटरमा दुई स्वर्ण आफ्नो नाममा लेखाए ।
प्रदीप बैजाली मगर (कराँते)
श्रीलंकामा भएको दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा प्रदीपले यू–२१ र सिनियर कुमितेमा दुई स्वर्ण जितेका थिए । उनले टिम कुमितेमा रजत तथा राष्ट्रिय प्रतियोगितामा लगातार स्वर्ण पदक जित्दै उत्कृष्ट सिजनका रूपमा बिताए ।
सदभाव आचार्य (गल्फ)
गत वर्ष गल्फका सदभावले अन्तर्राष्ट्रियस्तरमा स्वर्णपदक जिनते । उनले नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपमा व्यक्तिगत र टिम दुवै स्वर्ण जिते । यसैगरी अमेरिकाको एनसिएए डिभिजन १ गल्फमा पनि उनीआबद्ध टोली टिम च्याम्पियन बनेको थियो ।
वर्ष महिला खेलाडी
एरिका गुरुङ (कराँते)
कराँतेकी एरिकाले लगातार अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छिन् । गत वर्ष कराँते वान प्रिमियर लिगका विभिन्न चरणमा उनी लगातार पदक जित्न सफल भइन् । उनले मोरोक्कोमा कांस्य, टर्की र चीनमा रजत तथा मलेसियामा स्वर्ण पदक जितिन् ।
सावित्रा भण्डारी (फुटबल)
सावित्राले एसियन कप छनोटमा १० गोल गर्दै नेपालका लागि ऐतिहासिक प्रदर्शन गरिन् । उनी युरोपियन महिला फुटबल लिगमा ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी हुन् । अस्ट्रेलियाको ‘ए’ लिग क्लब वेलिङटन फिनिक्सबाट उनले गोल गरेकी छिन् । युरोप तथा अस्ट्रेलियन लिग खेल्ने उनी पहिलो नेपाली फुटबलर हुन् ।
सानुमाया थिङ (कराँते)
सानुमायाले पनि गत वर्ष अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिन् । उनले दक्षिण एसियाली कराँतेमा टिम कातामा स्वर्ण र व्यक्तिगत कातामा रजत जितिन् । उनी विश्व कराँते च्याम्पियनसिपका लागि छनोट हुने नेपाली खेलाडीमध्ये एक हुन् ।
सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
सन्तोषीले दक्षिण एसियाली च्याम्पियनसिपमा पाँच सय र १० हजार मिटरमा दुई कांस्य जितिन् । उनले दुवै इभेन्टमा राष्ट्रिय कीर्तिमान बनाइन् । उनी स्पेनको भ्यालेन्सिया म्याराथन र भारतको हाफ म्याराथनमा पनि आफ्नो नाममा राष्ट्रिय कीर्तिमान कायम बनाउन सफल भइन् ।
सविना श्रेष्ठ (कराँते)
सविनाले दक्षिण एसियाली कराँतेमा व्यक्तिगत र टिम कुमिते गरी दुई स्वर्ण जितिन् । गत वर्ष उनले थाइल्यान्ड ओपनमा टिम कुमितेमा स्वर्ण र व्यक्तिगत कुमितेमा कांस्य पदक पनि हात पारेकी थिइन् ।
वर्ष युवा खेलाडी
अर्पिल राना (बक्सिङ)
अर्पिलले गत वर्ष अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपाललाई कांस्य पदक दिलाए । उनले एसियाली यू–२२ बक्सिङ च्याम्पियनसिपमा कांस्य जितेका थिए । उनले साउदी अरेबिया र भुटानका खेलाडीलाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए ।
रेहान जाबेद (कराँते)
गत वर्ष कराँतेका खेलाडीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाए । यसैमध्ये रेहानले चीनमा भएको एसियाली क्याडेट, जुनियर तथा यू–२१ कराँते च्याम्पियनसिपमा कांस्य जिते । उनले एसियन प्यासिफिक सितोरियो कराँतेमा पनि कांस्य पदक हात पारे ।
मनीषाकुमारी बोहरा (कराँते)
मनीषाले एसियाली यू–२१ कराँतेमा कांस्य जितिन् । श्रीलंकामा भएको दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण तथा राष्ट्रिय कराँतेमा पनि स्वर्ण जितेकी थिइन् ।
पुरुषोत्तम सिलवाल (बुद्धिचाल)
पुरुषोत्तमले वेस्ट एसियन जुनियर ब्लिट्ज बुद्धिचाल च्याम्पियनसिपमा रजत जितेका थिए । उनले प्रतियोगितामा भारतका अन्तर्राष्ट्रिय मास्टरलाई हराएका थिए । यसैगरी, उनले रुसकी महिला ग्रान्डमास्टरमाथि पनि जित निकालेका थिए ।
रौनक श्रीवास्तव (क्रिकेट)
रौनकले टिबी शाह यू–१६ राष्ट्रिय क्रिकेटमा २१७ रनको दोहोरो शतक प्रहार गरेका थिए । प्रतियोगितामा उनी ३३२ रनसहित सर्वाधिक रन बनाउने खेलाडी बने ।
वर्ष प्रशिक्षक
दीपक महर्जन (बक्सिङ)
प्रशिक्षक महर्जनको प्रशिक्षणमा चन्द्र थापाले विश्व बक्सिङमा कांस्य जितेका थिए । उनकै प्रशिक्षणमा फोर नेसन्स कपमा नेपालले चार स्वर्ण जितेको थियो । यसपटक फोर नेसन्स कपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दा महर्जन नै प्रशिक्षक थिए ।
कुशल श्रेष्ठ (कराँते)
कुशलको प्रशिक्षणमा एरिकाले कराँते वान प्रिमियर लिगमा लगातार अन्तर्राष्ट्रिय पदक हात पारिन् । रेहान जाबेद, मनीषा बोहरा र सविना श्रेष्ठजस्ता खेलाडीको अन्तर्राष्ट्रिय सफलतामा पनि उनको महत्वपूर्ण भूमिका रह्यो ।
मण्डेकाजी श्रेष्ठ (कराँते)
मण्डेकाजी श्रेष्ठको प्रशिक्षणमा सानुमाया थिङ विश्व कराँते च्याम्पियनसिपका लागि छनोट भइन् । दक्षिण एसियाली कराँतेमा नेपालले २१ स्वर्ण जित्दा उनी टोलीका प्रमुख प्रशिक्षकमध्ये एक थिए ।
स्टुअर्ट ल (क्रिकेट)
स्टुअर्ट लले नेपाललाई टी–२० विश्वकपमा छनोट चरण पार गराए । उनको प्रशिक्षणमा नेपालले विश्वकप छनोटका सुपर सिक्सका सबै खेल जित्दै उपाधिसहित विश्वकप यात्रा तय गरेको थियो । टी–२० विश्वकपमा नेपालले १० वर्षपछि जित निकाल्दा उनी नै प्रशिक्षक थिए ।
पुरनसिंह खत्री (नेत्रहीन महिला क्रिकेट)
पुरनले दृष्टिविहीन महिला टी–२० विश्वकपको पहिलो संस्करणमा नेपाललाई उपविजेता बनाए । उनले उमेर समूहका प्रतियोगितामा पनि नेपाली टोलीलाई उल्लेखनीय सफलता दिलाएका छन् ।