६० घन्टापछि लेदोमुनिबाट उद्धार गरिएकी मनीषाको धुन्चेमा उपचार हुँदै
बाढी गएको करिब ६० घन्टापछि रसुवाको टिमुरेबाट उद्धार गरिएकी ६ वर्षीया बालिका मनीषा मगरलाई हेलिकोप्टरबाट धुन्चे बजार लगिएको छ। शुक्रबार साँझ सशस्त्र प्रहरीको टोलीले उनलाई टिमुेरबाट उद्धार गरेको थियो।
लेदोमुनिबाट रोइरहेको आवाज सुनेपछि सशस्त्र प्रहरीको टोलीले उनको उद्धार गरेको हो। अचेत अवस्थामा उद्धार गरी उनलाई शुक्रबार बेलुका सशस्त्र प्रहरीकै बिओपीमा राखिएकोमा शनिबार मौसम खुलेपछि हेलिकोप्टरमार्फत धुन्चे ल्याइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीले बताए।
शनिबार उनले आफ्नो नामसमेत बताएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको शरीरभरि चोटपटक छन्।
उद्धारमा भारतीय र चिनियाँ विज्ञहरूसँग समन्वय भइरहेको छः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीबालेन्द्र शाहले बाढीपछि जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारमा भारतीय र चिनियाँ विज्ञहरू र नेपाली सेनासँगको समन्वय भइरहेको बताएका छन्। विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फस्नुभएका २७९ जना मानिसको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले भारतीय र चिनियाँ विज्ञहरू नेपाली सेनासँगको समन्वयमा रहेर खटिएको जानकारी दिएका हुन्।
शनिबार बाढीपछिको उद्धार र राहतबाट सरकारले गरेका कामको उनले फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री राहत कोषमा ५ अर्बभन्दा बढी रकम संकलन
भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का अनुसार विभिन्न नौवटा वाणिज्य बैंकका खातामा हालसम्म ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भइसकेको छ। त्यस्तै, हिमालयन र लक्ष्मी बैंकका खातामा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर सहयोग रकम संकलन भएको छ।
प्रधानमन्त्री शाहले विपद्का बेला प्राप्त सहयोग रकमको पारदर्शी उपयोग र प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न तथा सम्भावित वित्तीय ठगीबाट जोगिन सरकारले सार्वजनिक गरेको आधिकारिक माध्यमबाट मात्र सहयोग गर्न आग्रह गरेका छन्।
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा उद्धार प्रयास तीव्र, ‘क्राउन’सम्म पुग्यो टोली
गृहमन्त्री सुधन गुरुङले त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न सफल भएको बताएका छन्।
मन्त्री गुरुङका अनुसार उद्धार टोलीले सुरुङको माथिल्लो भागमा सानो प्वाल बनाउन सफल भएको छ। उक्त प्वालबाट सुरुङभित्र हावा पठाउनसमेत सुरु गरिएको उनले जानकारी दिए।
अब सोही स्थानबाट थप खन्ने काम अघि बढाइने र त्यसपछि उद्धार टोलीलाई सुरुङभित्र पठाउने तयारी भइरहेको मन्त्री गुरुङले बताए।
रसुवा–नुवाकोटमा आएको विनाशकारी बाढीले आफन्त, परिवार र गाउँ नै खोसेपछि शिक्षण अस्पतालपरिसरमा मानिसहरू आफ्ना मान्छेको खोजीमा भौँतारिइरहेका छन् । कसैको हातमा हराएका श्रीमानको तस्बिर छ । कसैको छातीमा बेपत्ता छोरी–ज्वाइँ फर्किने आशासहितका तस्बिर ।
शुक्रबार नयाँ पत्रिकाका प्रतिनिधि शिक्षण अस्पतालपरिसर पुग्दा देखिएको दृश्य हृदयविदारक थियो, जहाँ हराएका आफन्तको खोजीमा आएका मानिसका न आँसु थामिएका थिए, न आशा नै मरेको थियो । सयौँ परिवारले आफ्ना आफन्त जीवित छन् कि छैनन् भन्ने उत्तर पाउन सकेका छैनन् ।
कोही आफन्त भेटिने आशामा घाइतेका अनुहार अस्पतालको भित्तामा टाँसिएका पोस्टरमा नियालिरहेका छन्, कोही अस्पतालमा ल्याइएका व्यक्तिको विवरण खोजिरहेका छन् । यीमध्येका थिए– फुर्वा तामाङ र पेमलामा तामाङ । खिन्न मन गरेर उनीहरू शुक्रबार साँझ शिक्षण अस्पतालपरिसरमा यताउति गरिरहेका भेटिए । उनीहरूको हातमा तेन्जिङ तामाङको तस्बिरसहितको पोस्टर थियो ।
बाढी प्रभावित क्षेत्रमा ४० हजार लिटर हवाई इन्धन र एक लाख ३४ हजार लिटर पेट्रोल–डिजेल वितरण
नेपाल आयल निगम लिमिटेडले रसुवा बाढी प्रभावित क्षेत्रको उद्धार र राहत सामग्री वितरणलाई सहज बनाउन ४० हजार ८ सय ४० लिटर हवाई इन्धन, ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल तथा तीन सय ८२ थान ग्यास सिलिन्डर वितरण गरेको जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री वितरणका लागि खटिने हेलिकोप्टरलाई हवाई इन्धन उपलब्ध गराउन आयल निगमले नेपाल आर्मीको त्रिशूली ब्यारेकमै रिफ्युलर उपलब्ध गराइरहेको छ। काठमाडौंबाट डिस्पेन्चरमा दिनहुँ तेल लगेर हेलिकोप्टरलाई त्रिशूली ब्यारेकमै हवाई इन्धन उपलब्ध गराइरहेको निगमले जनाएको छ ।
डिएनए नमुना सुरक्षित राखेर ट्यागसहित नारायणीकिनारमा भेटिएका २२७ अज्ञात शव देवघाटनजिकै गाड्न सुरु
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि चितवनस्थित नारायणी नदीकिनारमा फेला परेका पहिचान हुन नसकेका शवहरू जमिनमुनि व्यवस्थापन गर्न सुरु गरिएको छ। संक्रमण तथा महामारी फैलिने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले डिएनए नमुना संकलन गरी शवहरू सम्मानजनक रूपमा गाड्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भरतपुर महानगरपालिका–१, रामनगर–देवघाट सडक खण्ड नजिकैको जंगल क्षेत्रमा शव व्यवस्थापन सुरु गरिएको हो । प्रत्येक शवको डिएनए नमुना संकलन गरी छुट्टाछुट्टै संकेत नम्बर (ट्याग) राखेर भविष्यमा पहिचान गर्न सकिने गरी अभिलेख सुरक्षित बनाइएको प्रशासनले जनाएको छ ।
वैकल्पिक सडक सञ्चालनमा आएपछि धादिङबेँसी पुनः सडक सञ्जालमा जोडियो
धादिङ सदरमुकाम धादिङबेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। वैकल्पिक सडक सञ्चालनमा आएसँगै बाढीका कारण अवरुद्ध भएको धादिङबेँसीको सडक सम्पर्क पुनः जोडिएको हो।
परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टारस्थित ह्याम्लेट रेस्टुरेन्टसम्म जोडिने सडक सञ्चालनमा ल्याइएको हो।
गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले धादिङबेँसी जाने त्रिशूली नदीमाथिको पुल बगाएपछि सदरमुकामसँगको सडक सम्पर्क विच्छेद भएको थियो। मुख्य सडकमार्ग अवरुद्ध भएपछि धादिङबेँसी पुग्न समस्या भएको थियो।
नारायणीमा बाढीको बहाव बढेपछि पश्चिम चितवन उच्च जोखिममा, बाढी जोखिम नक्सा पुनरवलोकन गरिने
रसुवाको माथिल्लो भेगबाट आएको बाढीका कारण त्रिशूली हुँदै नारायणी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेपछि पश्चिम चितवनका नदीकिनारका बस्तीहरू जोखिममा परेका छन्। भरतपुर महानगरपालिका–१७ स्थित माझुवा बस्तीलगायतका क्षेत्रमा नदीले धार परिवर्तन गर्न सक्ने सम्भावना देखिएपछि जोखिम न्यूनीकरणका लागि सरकारी संयन्त्र परिचालन गरिएको ऊर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए ।
मन्त्रालयका अनुसार विगतको जोखिम नक्सांकनमा नारायणी नदीको उक्त खण्डलाई तुलनात्मक रूपमा कम जोखिमयुक्त क्षेत्रका रूपमा वर्गीकरण गरिएको थियो। तर, पछिल्ला वर्षहरूमा नदीको बहाव प्रवृत्तिमा आएको परिवर्तनसँगै पानीको बहाव र थेग्रान तथा गेग्रानको व्यवहार अपेक्षाभन्दा फरक देखिएको भन्दै नारायणी करिडोरको बाढी जोखिम नक्सा पुनरवलोकन गरिने भएको छ।
सूचना प्राप्त भएलगत्तै मन्त्रालयअन्तर्गतको फिल्ड कार्यालय स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी घटनास्थलमा परिचालन भएको मन्त्रालयले जनाएको छ। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा जलविज्ञ सम्मिलित प्राविधिक टोलीसमेत घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।
शव व्यवस्थापनमा समस्या, औँठाछाप र डिएनए लिएर राख्न थालियो
बाढीमा परेर मृत्यु भएकाहरूको शव तत्काल सनाखत र हस्तान्तरण गर्न कठिन हुने भएपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार सबै शवको औँठाछाप र डिएनए नमुना लिन थालिएको छ । ठुलो संख्यामा शव व्यवस्थापनमा समस्या हुने देखिए पनि सरकारले पछि सनाखत गर्न सहज होस् भनेर यसरी शवको नमुना लिन थालिएको हो । रेडक्रसको अन्तर्राष्ट्रिय निर्देशिकाअनुसार शवको व्यवस्थापन गर्न लागिएको छ ।