प्रधानमन्त्री राहत कोषमा ५ अर्बभन्दा बढी रकम संकलन

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का अनुसार विभिन्न नौवटा वाणिज्य बैंकका खातामा हालसम्म ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भइसकेको छ। त्यस्तै, हिमालयन र लक्ष्मी बैंकका खातामा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर सहयोग रकम संकलन भएको छ।

प्रधानमन्त्री शाहले विपद्का बेला प्राप्त सहयोग रकमको पारदर्शी उपयोग र प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न तथा सम्भावित वित्तीय ठगीबाट जोगिन सरकारले सार्वजनिक गरेको आधिकारिक माध्यमबाट मात्र सहयोग गर्न आग्रह गरेका छन्।

उनले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषको आधिकारिक खातामा तथा सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोडमार्फत मात्र आर्थिक सहयोग गर्न अनुरोध गरेका छन्।

सरकारले राहत कोषमा प्राप्त हुने रकम तथा सहयोगको विवरण पारदर्शी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत उद्धार अनुरोध पोर्टल समेत सञ्चालनमा ल्याएको छ।

सुझावित समाचार