बाढीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको सेफ फेला पारी तोडफोड गरेर त्यसभित्र रहेको नगद चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदीकिनारमा फेला परेको थियो। स्थानीय व्यक्तिहरूले सेफ तोडफोड गरी भित्र रहेको रकम आफूखुसी निकालेको भन्ने सूचना भदौ १२ गते प्राप्त भएपछि प्रहरीले तत्काल टोली परिचालन गरी अनुसन्धान थालेको थियो।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट ९२ लाख ६८ हजार पाँच सय पाँच रुपैयाँ नगद बरामद भएको जनाएको छ।

प्रहरीका अनुसार बरामद रकमको वास्तविक स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको छ। बरामद नगद र नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि पनि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

नियन्त्रणमा लिइएकामध्ये गल्छी गाउँपालिका–४ मासटारका पवन पौडेल, वीरबहादुर रानामगर, विनोद गिरी, नवराज भेटुवाल, पूर्णलाल श्रेष्ठ, विष्णुमणि अधिकारी, कृष्ण मगर, शिवबहादुर राना मगर, युवराज अधिकारी, सुचिमबहादुर रानामगर, सविन श्रेष्ठ, प्रेमबहादुर रानामगर र अनिल भेटुवाल तथा गल्छी–६, आदमघाटका सुशान्त श्रेष्ठलगायत रहेका छन्।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा रकमको स्रोत खुलाउने विषयमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

सुझावित समाचार