- फिफाको २० प्रतिशत सेयर निजी लगानीकर्तालाई बिक्री गर्ने विवादपछि युइएफएले इन्फान्टिनोविरुद्ध कानुनी कदम चाल्ने तयारी गरेको बिबिसीले जनाएको छ
विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध फौजदारी उजुरी दायर गर्ने तयारी युरोपेली फुटबलको नियामक निकाय युइएफएले गरिरहेको छ । विश्वकपको व्यावसायिक अधिकारको २० प्रतिशत सेयर निजी लगानीकर्तालाई बिक्री गर्ने योजनालाई लिएर सुरु भएको विवादपछि युइएफएले इन्फान्टिनोविरुद्ध कानुनी कदम चाल्ने तयारी गरेको बिबिसीले जनाएको छ ।
अमेरिकी संघीय अदालतमा युइएफएका वकिलहरूले ५६ पृष्ठ लामो दस्ताबेज बुझाएका छन् । वकिलहरूले न्युयोर्क, फ्लोरिडा र कोलोराडोका अदालतमा दस्ताबेज राखेका हुन् । इन्फान्टिनोविरुद्ध क्रिमिनल मिसम्यानेजमेन्ट कार्य भएको उल्लेख छ । इन्फान्टिनोले फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) कम्पनीमार्फत विश्वकपको २० प्रतिशत हिस्सा निजी कम्पनीलाई बिक्री गर्न लागेका हुन् । एफएफई योजनाका प्रमुख लगानीकर्तामध्ये थ्राइभ क्यापिटलका संस्थापक जोसुआ कुसनर हुन् । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुसनरका भाइ हुन् । एफएफई योजना सार्वजनिक भएपछि युरोपेली फुटबलमा यसको चर्को विरोध भएको थियो । गत जुलाईमा अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गरेको २३औँ संस्करणको विश्वकप फुटबल प्रतियोगितापछि इन्फान्टिनोले निजी लगानीकर्तालाई करिब चार
अर्ब २० करोड अमेरिकी डलरमा सेयर बिक्री गर्ने योजना सार्वजनिक गरेका थिए ।
युइएफएले भने फिफाको पछिल्लो योजना बजारको मूल्यभन्दा निकै कम भएको दाबी गरेको छ । ‘फिफाले बजारको वास्तविक मूल्यभन्दा निकै कम मूल्यांकन गरेर सेयर बिक्री गर्ने तयारी गरेको छ,’ युइएफएले भनेको छ, ‘प्रस्ताव कुनै खुला तथा प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट तयार गरिएको छैन ।’
स्विसको नियम उल्लंघन
युइएफएले लगानीकर्ता कम्पनीसँग भएका गोप्य कागजात, इमेल र कुराकानी सार्वजनिक गर्न माग गरेको छ । स्विस कानुन (धारा १५८) अनुसार इन्फान्टिनोले आफ्नो पदको दुरुपयोग गरी फिफालाई घाटा पुर्याएको र व्यक्तिगत लाभ लिन खोजेको प्रमाणित भएमा कम्तीमा पाँच वर्षसम्मको जेल सजाय वा ठुलो जरिवाना हुन सक्छ । पछिल्लो विवादका कारण उनको पद संकटमा परेको छ । युरोप, एसिया र उत्तर अमेरिकी फुटबल महासंघहरूले उनलाई राजीनामा दिन दबाब दिइरहेका छन् ।
इन्फान्टिनोमाथि दबाब बढाउन युरोपले फिफाले आयोजना गर्ने कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भाग नलिने घोषणा गरेको थियो । गत महिना युरोपले विश्वकपमा कुनै पनि राष्ट्रले छनोट प्रतियोगिता नखेल्ने जनाएका थिए । ‘सेयर बिक्री गर्ने योजनाबाट पछि नहट्दा युरोपले फिफाबाट आयोजना हुने कुनै पनि प्रतियोगितामा खेल्नेछैन,’ उनीहरूले भनेका थिए ।