एक हजार विस्थापित ‘होल्डिङ सेन्टर’मा, कतिपय खुला आकाशमुनि

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

बुधबारको बाढीपछि नुवाकोट, रसुवा र धादिङका करिब दुई हजारजना विस्थापित भएका छन् । कतिपय विस्थापितले सरकारबाट सहयोग पाउन नसकेको बताएका छन् । एक हजार २२ जना सरकारी होल्डिङ सेन्टरमा छन् ।

नुवाकोटमा मात्र एक हजार तीन सयजना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयको आकलन छ । ६ सय जनालाई भने होल्डिङ सेन्टरमै राखिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । उनीहरूलाई विद्यालय, आयुर्वेदिक अस्पताललगायत विभिन्न स्थानमा राखिएको उनको भनाइ छ । विस्थापित भएका अन्य करिब सात सयजना भने आफन्तलगायतकोमा बसेका छन् ।

बाढीले नुवाकोटको बेत्रावती, त्रिशूली, बट्टार, तथा देवीघाट क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । ती क्षेत्रमा सयौँ घरहरू बगाएको छ । बेत्रावती क्षेत्रका कतिपय स्थानीयहरू खुला आकाशमुनि रात बिताइरहेका छन् । त्यहाँ राज्यको उपस्थिति कमजोर भएको स्थानीयको आरोप छ ।

त्यस्तै, धादिङमा १५० परिवार आफ्नो घरबाहिर छन् । बाढीले गल्छी, बैरेनी र गजुरीका घरमा क्षति पुर्याएको छ । विस्थापित भएकामध्ये केहीलाई पालिकाले राखेको र केही आफन्तको घरमा बसेको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले बताइन् । कतिपयको घर लेदोले भरिएकाले सुरक्षाकर्मीको सहयोगमा उद्धार तथा सफाइ गर्ने काम भइरहेको छ ।

त्यस्तै, रसुवामा विस्थापित करिब सयजना धुन्चेमा छन् । उनीहरूलाई स्थानीय तहसँग मिलेर  होल्डिङ सेन्टरमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रसुवाका कतिपय सर्वसाधारण तेस्रो दिनसम्म पनि जंगलमा बसेका छन् । उनीहरूको उद्धार हुन सकेको छैन ।

सरकारले भने विस्थापितहरूलाई खाद्यान्न र राहतका सामग्रीमा कुनै कमी हुन नदिइएको जनाएको छ । जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरी आवश्यक स्थानहरूमा सामग्री पठाइएको जनाएको छ । त्यसका लागि विमानस्थललगायत स्थानमा गोदामघर स्थापना गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताइन् ।

प्राधिकरणले टेन्ट, ब्लांकेट, स्लिपिङ ब्याग तथा खाद्य सामग्रीहरू आवश्यक रहेकाले उपलब्ध गराउन पनि आग्रह गरेको छ । प्रधानमन्त्री कार्यालयले ३२ ट्रक राहत सामग्री विभिन्न स्थानमा पठाइएको र ६ वटा हेलिकोप्टरमार्फत पनि दुर्गम क्षेत्रमा लगिएको विवरण सार्वजनिक गरेको छ । 
 

सुझावित समाचार