तहसनहस विदुरका बजार र बस्ती : कम्तीमा चार सय घर क्षतिग्रस्त दुई सयजना सम्पर्कविहीन

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

त्रिशूली नदीछेउछाउ रहेका नुवाकोट विदुर नगरपालिकाका आधा दर्जन बजार, बस्तीमा गत बुधबारको बाढीले ठुलो क्षति पुर्याएको छ । कम्तीमा चार सय घर क्षतिग्रस्त बनेको र दुई सयजना सम्पर्कविहीन बनेको प्रारम्भिक तथ्यांक रहेको विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटीले बताइन् । ‘अहिलेको पहिलो प्राथमिकता सम्पर्कविहीन भएकालाई खोज्ने र प्रभावितलाई गाँसबास उपलब्ध गराउने हो । त्यही भएर विस्तृत तथ्यांक संकलन भइसकेको छैन,’ उपमेयर बोगटीले भनिन्, ‘त्रिशूली नदीका पुल बगाएकाले राहत वितरण र खोजमा समस्या भइरहेको छ । हामीले पनि प्रभावकारी ढंगबाट राहत वितरण गर्न सकेका छैनौँ ।’

विदुर नगरपालिकाले संकलन गरेको प्रारम्भिक विवरणअनुसार वडा नम्बर १ त्रिशूली बजार, पुरानो बजार, ढुंगे बजारका दुई सय, सोलेबजारका सात, दुप्चेलगायत क्षेत्रका ५०, वडा नम्बर १० भैँसेका ५० र वेत्रावती (नुवाकोटतर्फ)का ५० घर क्षतिग्रस्त बनेका छन् । यसबाहेक माछापोखरी, देवीघाट, श्रीखाली, सिमचौर शिवलीका बस्तीमा पनि ठुलो क्षति पुगेको तथ्यांक छ । 

रसुवा र नुवाकोटको सीमाक्षेत्र पर्ने वेत्रावतीका सबैजसो घरमा क्षति पुगेको छ । ‘घर कम्तीमा ५० घर बगाएको देखिन्छ । रसुवापट्टि पनि क्षति भयो होला । तर, बजार व्यवसायमा कति क्षति पुग्यो भनेर अहिले नै भन्न सकिने अवस्था छैन,’ उपमेयर बोगटीले भनिन् । 

विदुरका यी बजार र बस्तीले रसुवागढी नाका जोड्छ । त्यही भएर यो सडकबाट यात्रा गरिरहेका, होटेलमा बसेका, खानाखाजा खाइरहेकाहरू पनि बाढीमा परेको हुन सक्ने आकलन छ । तर, के–कतिको संख्यामा बाढीमा परे भनेर यकिन तथ्यांक छैन । 

प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलका अनुसार प्रभावित एक हजार ६ सयलाई नौवटा होल्डिङ सेन्टरमा राखिएको छ । ‘रसुवाबाट उद्धार गरेर ल्याएका, अन्यत्र घर रही यहाँ बसिरहेका र हाम्रै पालिकाका प्रभावितहरूलाई होल्डिङ सेन्टरमा राखेका छौँ । यसबाहेक कतिपय आफन्तकोमा पनि बस्नुभएको छ,’ पौडेलले भने, ‘सरकारबाट आएको राहतसँगै हामीले पनि राहत दिइरहेका छौँ । अहिलेलाई चिउरा, चाउचाउ, चामल छ ।’ तर, त्रिशूलीपारि दुम्से, त्रिशूली, माछापोखरी, श्रीखाली क्षेत्रमा राहत पुर्याउन समस्या भइरहेको उनले बताए । ‘पुल बगेका छन् । शुक्रबार पानीको बहाव पनि बढेको छ । त्यही भएर पारिका बस्तीमा राहत लैजान कठिनाइ भइरहेको छ,’ उनले भने, ‘पारितर्फ मात्र नौ सयजना हुनुहुन्छ ।’

विदुरका तुप्चेमा रहेको पुस्तकालय, सिमचौरमा रहेको सेफहाउस र किरियापुत्री भवन, बट्टारमा रहेको कभर्ड हल, देवीघाटमा रहेको आयुर्वेद वैकल्पिक चिकित्सालय, वेत्रावतीमा रहेको सुन्दरी क्यौरिनी माध्यमिक विद्यालय, त्रिशूली बजारमा रहेको कोलोनी कभर्ड हल, सिटखालीमा रहेको रणभुवनेश्वरी मावि र वडा कार्यालयलाई होल्डिङ सेन्टर बनाइएको हो । 

भोटेकोशी (त्रिशूली)मा बाढी आएको खबर प्राप्त भएपछि सूचना बिहान ९ बजेतिर पाएपछि माइकिङ गरिएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए । ‘बिहानदेखि नै मानिसको भिडभाड थियो । यात्रुवाहक बसको भिड उस्तै थियो, गाडीबाहिर र भित्र गरी करिब तीन–चार सय मानिस वेत्रावती सडकमा मात्रै थिए, कतिपय बस यात्रु बोकेर अघि बढिरहेका देखिन्थे,’ उनले बताए, ‘९ बजेपछि प्रहरीले माइकिङ पनि गरिरहेको थियो, तर यात्रुहरू ओहोरदोहोर गर्ने क्रम रोकिएन, केहीबेरमा त जोडतोडले बाढी आयो, सडकमा भएका मानिसदेखि सवारीसाधन सबै कहाँ गए अत्तोपत्तो भएन । चियापसल र होटेलका अगाडि दुई दर्जनभन्दा बढी निजी कारसमेत रोकिएका थिए ।’ 

बेलकोटगढीमा महादेवस्थान, बालुवाखानी, केउरेनीमा क्षति
बेलकोटगढी नगरपालिकामा तीनवटा वडाका वस्तीमा क्षति पुगेको छ । नगरपालिकाभित्रै रहेका बखत बाढीमा परेर हराएका वा ज्यान गुमाउनेहरू भने नरहेको प्रवक्ता कष्णबहादुर भुजेलले बताए । ‘हाम्रोमा मुख्य समस्या सडक अवरुद्ध बनेका छन् । देवीघाटमा पुल बगेकाले पालिका आउने सडक अवरुद्ध छ । स्याफ्रुबेँसी–हेटौँडा जोड्ने सडक अवरुद्ध छन्,’ उनले भने, ‘भौतिक क्षतिको विवरण संकलनकै क्रममा छ । वडा नम्बर ५, ७ र ८ मा घर क्षति भएका छन् । ती वडाका महादेवस्थान, बालुवाखानी, केउरेनीमा बाढीले घर खेत बगाएको तर यकिन तथ्यांक नरहेको उनले बताए । बेलकोटगढीको जिलिङमा रहेको महादेव माध्यमिक विद्यालयलाई अस्थायी शिविर बनाइएको छ । 

किस्पाङमा प्रभावितलाई शिविरमा राखियो, क्षतिको विवरण संकलन हुन बाँकी
किस्पाङ गाउँपालिकाका बाढी प्रभावितलाई दुईवटा विद्यालयमा राखिएको छ । कार्की गाउँमा रहेको कार्की मनकामना आधारभूत र अर्चेलेमा रहेको त्रिभुवन माविमा करिब तीन सय प्रभावित रहेको गाउँपालिकका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए । ‘प्रभावितहरू हाम्रै पालिकाका मात्र होइन । अन्यत्रबाट आएर जलविद्युत् आयोजना, सडकमा मजदुरीको काम गरिरहनुभएकाहरू पनि हुनुहुन्छ । रसुवाबाट उद्धार गरेर ल्याइएका पनि हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरूलाई खाना पुर्याउन गाह्रो भइरहेको छ ।’

बाढीले सिमले, मैलुङ, नयाँ पुललगायत क्षेत्रका बस्ती प्रभावित हुनुका साथै घरमा क्षति गरे पनि विवरण संकलन हुन नसकेको उनले बताए । ‘हराउनेमा पालिकाबाट बाहिर रहेकामा हुनुहुन्छ । हाम्रो मान्छे हराए भनेर पालिकामा आइरहनुभएको छ,’ उनले भने । बेलिब्रिज राखेर आवतजावत सुचारु र विद्युत् आपूर्ति भएमा उद्धार, खोज तथा राहत वितरणमा सहज हुने उनले बताए । 

तारकेश्वरमा १० घरमा क्षति
तारकेश्वर गाउँपालिकाका १० घरमा क्षति पुगेको अध्यक्ष शिव अधिकारीले बताए । ‘वडा नम्बर १ र २ का १० घरमा क्षति भएको छ । त्यसमा पनि पाँच घरमा बस्न नमिल्ने भएपछि आफन्तकहाँ बसिरहनुभएको छ,’ उनले भने । बाढीले गाउँपालिका क्षेत्रमा त्रिशूली नदीका दुई पक्की र तीन झोलुंगे पुल बगाएपछि समस्या भएको उनले बताए । ‘हाम्रो मुख्य समस्या बाटोको छ । धादिङ जोड्ने बाटो ब्लक छ । त्रिशूलीका पुल बगे,’ उनले भने । पालिकाबाहिर रहेका तारकेश्वरका ६ जना हराइरहेको उनले बताए । 

सुझावित समाचार