नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरूमा सेवा पुनः सञ्चालनमा तीव्रता दिएको छ। शुक्रबार प्राविधिकहरू बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन हुन बाँकी रहेका स्थानमा सेवा सञ्चालन गर्न तथा सञ्चालनमा आइसकेका टावरलाई थप भरपर्दो बनाउन खटिएका सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ।
बाढीका कारण बन्द भएको गोसाईंकुण्ड गाउँपालिका– ५ मा अवस्थित गोलजुङ टावर (बाहुनडाँडा) सञ्चालनमा ल्याई स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका वडा नं. ४, ५ तथा गोसाईंकुण्ड गाउँपालिका वडा नं. ३, ५ र स्याफ्रुबेँसी–टिम्मुरे राजमार्गका केही भागमा सेवा सञ्चालन भएको छ।
बिहीबार हेलिकाेप्टरबाट कर्मचारी परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका– ६ मा अवस्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेसन सञ्चालनमा ल्याइएको थियो।
नुवाकोटको सूर्यगढी गाउँपालिका– ३ मा अवस्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आई विदुर नगरपालिकाको वडा नं. १०, ११ तथा सूर्यगढी गाउँपालिका वडा नं. ४ का केही भागमा दूरसञ्चार सेवा सञ्चालन भएको छ।
शुक्रबार नै विदुर नगरपालिका– ८ मा अवस्थित तुप्चे टावर तथा गोसाईंकुण्ड गाउँपालिका– २, टिम्मुरेमाथिको डाँडामा अवस्थित टेलिकम टावरमा हेलिकाेप्टरबाट जेनेरेटर, पेट्रोल तथा प्राविधिकहरू खटाई सेवा सञ्चालन गर्ने क्रममा रहेको छ।
बुधबारदेखि नै नेपाल टेलिकमका प्राविधिकहरू रसुवाको न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेसनमा अनवरत खटिई बाढी प्रभावित स्थानहरूमा सेवा सञ्चालन गराइराखेका छन् ।
हालसम्म रसुवा, नुवाकोट, धादिङ जिल्लाका बाढी प्रभावित १२० साइटमध्ये ८० साइटमा सेवा सञ्चालन भइसकेको सचिवालयले जनाएको छ।