बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकम र एनसेलको नि:शुल्क सेवा

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध गराएको घोषणा गरेको छ । नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई दुई दिनका लागि अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन दुई जिबी डाटा तथा ५० एसएमएस निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो । 

टेलिकमले रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट लगायतका प्रभावित क्षेत्र तथा पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी र मुग्लिन–नारायणगढ सडक खण्ड आसपासका बासिन्दाहरूको शीघ्र उद्धार तथा सहज सञ्चार सुविधाका लागि यो सेवा उपलब्ध गराएको हो ।  

टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर जानकारी गराइरहेको छ । त्यस्तै, एनसेलले पनि बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि डेटा र भ्वाइस सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ । कम्पनीले तीन दिनको समयावधि रहने १०० वटा एसएमएससमेत निःशुल्क उपलब्ध गराइने बताएको छ ।

बाढी प्रभावित क्षेत्रका बासिन्दा तथा त्यहाँ रहेका सर्वसाधारणलाई परिवार, आफन्त तथा उद्धार टोलीसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुर्याउने उद्देश्यले निःशुल्क डेटा, भ्वाइस र एसएमएस सेवा उपलब्ध गराउन लागिएको एनसेलले जनाएको छ ।

See More On

सुझावित समाचार