रसुवाको बाढीमा परी रामेछापका दुई कर्मचारीसहित ३३ जना बेपत्ता

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

बुधबार बिहान रसुवामा आएको बाढीका कारण रामेछापका दुई सरकारी कर्मचारीसहित अन्य ३१ जना मानिस बेपत्ता भएका छन् । बेपत्ता हुने सरकारी कर्मचारीहरूमा मन्थली नगरपालिका– ४, सालुका रामहरि खड्का र सुनापति गाउँपालिका– ५, खनियापानीकी पार्वती मानन्धर रहेका छन् । खड्का रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत रहेका थिए भने मानन्धर अध्यागमन विभाग टिमुरेमा अध्यागमन सहायक पदमा कार्यरत रहेकी थिइन् । हाल उनीहरू दुवैजना बेपत्ता रहेका छन् । 

यसबाहेक उक्त घटनामा परी बेपत्ता हुनेहरूमा रामेछाप नगरपालिका– १, गोठपानीका गुञ्ज श्रेष्ठ, नवराज श्रेष्ठ, रञ्जन श्रेष्ठ, राजन श्रेष्ठ र बिक्री लामा, वडा नं. ३ साँघुटारका दिलबहादुर प्रधान, वडा नं. ४ हिमगंगाका मीन आलेमगर र नवराज आलेमगर र वडा नं. ७ सुकाजोरका सुमनविक्रम कार्की रहेका छन् । 

त्यसैगरी खाँडादेवी गाउँपालिका– ४ पकरवासका उत्तम प्रसाईं र प्रकाश मंग्राती, वडा नं. ८ गागलभदौरेका टलबहादुर भण्डारी रहेका छन् । त्यस्तै, अन्य बेपत्ता हुनेहरूमा दोरम्बा शैलुङ गाउँपालिका– २ दोरम्बाका डम्बरबहादुर मगर, सूर्यबहादुर मगर र रामकुमार मोक्तान, वडा नं. ६ लखनपुरका तारानाथ चौलागाईं, वडा  नं. ४ गौश्वाराका नीरा थापा, वडा नं. १ डडुवाका पेन्जु लामा र लाक्पा दोर्जे शेर्पा रहेका छन् । 

त्यसैगरी अन्य बेपत्ता हुनेहरूमा मन्थली नगरपालिका– १ मन्थलीका सानुकुमार श्रेष्ठ र सुन्दर श्रेष्ठ वडा नं. १० चनखुका अभिषेक लामा, वडा नं. ११ गेलुका मीनराज मोक्तान र वडा नं. १४ फुलासीका अनिल पाख्रिन रहेका छन्। त्यस्तै गोकुलगंगा गाउँपालिका– ४ का राजु गजमेर, सुरज श्रेष्ठ र ईश्वरी खड्का रहेका छन् । 

त्यस्तै, लिखु तामाकोशी गाउँपालिका– ५ नागदहका कुशल बुढाथोकी र बुद्धिमान तामाङ रहेका छन् । यसबाहेक उमाकुण्ड गाउँपालिका– १ गुम्देलका ङिमा शेर्पा र वडा नं. ३ कुभुकास्थलीका मधुकुमार कार्की रहेका छन् । परिवारका सदस्यहरूले दिएको विवरणको आधारमा बेपत्ता हुनेहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए । 

उनले भने, ‘अन्य नागरिकहरू पनि बेपत्ता हुन सक्नुहुन्छ। विवरणहरू आउने क्रम जारी रहेको छ । हालसम्म परिवारका सदस्यहरूले दिएको विवरणअनुसार हराएका व्यक्तिहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय नागरिक, उद्धार टोली घटनास्थलमा अहोरात्र खटिइरहेकाले भरपर्दो सूचना पर्खन, नआत्तिन र धैर्य  रहन सबै नागरिकहरूसमक्ष आग्रह गर्दछौँ ।’

सुझावित समाचार