बुधबार भाेटेकाेशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको नेपाली सेनाले जनाएकाे छ। बाढी प्रभावितको उद्धारका क्रममा नेपाली सेनाको हेलिकोप्टरमार्फत हालसम्म १२ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट दुईजना र धुन्चेबाट चारजनाको उद्धार गरिएको हो। उद्धार कार्यका लागि प्रभावित क्षेत्रमा नेपाली सेनाका चारवटा र निजी कम्पनीका आठवटा गरी जम्मा १२ वटा हेलिकोप्टर परिचालन भइरहेका छन्।
यसैबिच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवासमेत प्रदान गरिरहेको छ। बाढी प्रभावित तथा उद्धार गरिएका व्यक्तिहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन मेडिकल टोली परिचालन गरिएको सेनाले जनाएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षा निकाय तथा सम्बन्धित निकायहरू सक्रिय रहेका छन्।