रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत खोलातटीय क्षेत्रमा अचानक आएको बाढीबाट क्षति भएपछि नेपाली सेनाले खोज तथा उद्धार एवं विपत् व्यवस्थापन टोली परिचालन गरेको छ।
बुधबार बिहान करिब ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा क्षति पुर्याएको जानकारी प्राप्त भएपछि नेपाली सेनाले उद्धार तथा राहतका लागि जनशक्ति परिचालन गरेको हो।
खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाका दुईवटा हेलिकाेप्टर त्रिशूली पुगेका छन्। त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्याउन आपतकालीन चिकित्सा उद्धार टोली (EMRT) — एमआई–१७ हेलिकाेप्टरसहित परिचालन भएको सेनाले जनाएको छ।
यसैगरी, धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा खटाइएको छ भने गजुरीस्थित नं. ६ बाहिनी अड्डाबाट विपत् व्यवस्थापनमा दक्ष जनशक्तिसमेत परिचालन गरिएको छ। बाढीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको छ।
नेपाली सेनाले त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, बाढी प्रभावितको खोज, उद्धार तथा सहयोगका लागि सम्बन्धित सबै पक्षसँग सहकार्य गर्न सेनाले अनुरोध गरेको छ।