मंगलबार १० बजेसम्मका प्रमुख १० खबर

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

विपक्षी दलहरूको बहिष्कारबिच मुख्यमन्त्री थापालाई विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सभाका विपक्षी दलहरूको बहिष्कारबिच विश्वासको मत प्राप्त गरेका छन्। विपक्षी दलहरूले प्रक्रिया नै असंवैधानिक भएको आरोप लगाउँदै बैठक बहिष्कार गरेपछि उपस्थित सत्तापक्षीय सांसदहरूको मतबाट मुख्यमन्त्री थापाले विश्वासको मत हासिल गरेका हुन्।

मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उपस्थित सबै ५७ सांसदले मतदान गरे। प्रस्तावको विपक्ष वा तटस्थमा कुनै मत परेन।

नागढुंगा सुरुङमार्ग कुन गाडीलाई कति शुल्क ?

काठमाडौं प्रवेश तथा बाहिरिन प्रयोग हुने सुरुङमार्गमा सवारीसाधनअनुसार फरक–फरक शुल्क तोकिएको छ। सुरुङमार्ग हुँदै काठमाडौं भित्रिँदा कार तथा भ्यानलाई ६५ रुपैयाँ, मिनीबस तथा ट्रकलाई ११५ रुपैयाँ, ठुला बस तथा ट्रकलाई २६० रुपैयाँ र भारी उपकरणलाई ६ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

यस्तै, काठमाडौं बाहिरिँदा कार तथा भ्यानलाई ६० रुपैयाँ, मिनीबस तथा ट्रकलाई ८० रुपैयाँ, ठुला बस तथा ट्रकलाई दुई स रुपैयाँ र ठुला उपकरणलाई २५० रुपैयाँ शुल्क लाग्नेछ।

सुरुङमार्ग सञ्चालन गर्ने सेवाप्रदायक कम्पनीले टोल गेटमा एन–ट्याग तथा नगद दुवै माध्यमबाट शुल्क उठाउने व्यवस्था गरिएको छ। एन–ट्याग कुमारी, नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र सानिमा बैंकबाट प्राप्त गर्न सकिनेछ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा ११ सांसदले प्रश्न सोध्ने

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदै छ। संसद् सचिवालयका अनुसार विभिन्न दलका ११ सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न नाम दर्ता गराएका छन्।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका समीक्षा बाँस्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश्न गर्नेछन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ, एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न सोध्नेछन्।

यस्तै, नेकपाका वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीका हर्कराज राई तथा राप्रपाकी खुश्बु ओलीले पनि प्रश्न गर्ने भएका छन्।

प्रधानमन्त्रीले कालो चस्मा लगाउनुको कारण यस्तो...

प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय सार्वजनिक कार्यक्रममा कालो चस्मा लगाउनुको कारण खुलेको छ। प्रधानमन्त्री शाहको आँखामा समस्या भएपछि चिकित्सकले आँखाको परीक्षण गरेका थिए। परीक्षणका क्रममा उनलाई आँखा सुक्खा हुने समस्या (ड्राइआई) देखिएको चिकित्सकीय रिपोर्टमा उल्लेख छ।

नेपाल–अमेरिका सम्बन्धलाई नयाँ आर्थिक दिशामा लैजानुपर्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत विकास सहायताको दायराबाट अघि बढाउँदै लगानी, व्यापार, प्रविधि र उद्यमशीलतामा केन्द्रित गर्नुपर्ने बताएका छन्।

अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा सेन्टर फर साउथ एसियन स्टडिज–नेपालले आयोजना गरेको कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको तयारीमा रहेकाले द्विपक्षीय सम्बन्धलाई नयाँ आर्थिक आधारमा अघि बढाउनुपर्ने बताए।

७ असोजदेखि फ्लाई दुबईले पोखरामा व्यावसायिक उडान भर्ने

संयुक्त अरब इमिरेट्स (युएई)को वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा आगामी ७ असोज अर्थात २३ सेप्टेम्बरदेखि दैनिक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ। कम्पनीले सुरुमा एक महिना पोखरा–दुबई, दुबई–पोखरा उडान भर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट गत जेठ अन्तिम साता अनुमति पाएको थियो।

नेप्से ५ अंकले घट्दा चार अर्बभन्दा बढीको सेयर कारोबार

मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर दुई हजार ५९४.२७ विन्दुमा बजार बन्द भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि क्रमशः ०.५० र ०.३७ अंकले ओरालो लागेका छन्।

समग्र बजार घटे पनि आज कारोबार रकममा भने वृद्धि भएको छ। सोमबार तीन अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब १० करोडभन्दा माथि पुगेको छ। आज ३५७ कम्पनीका एक करोड ४४ हजार कित्ता सेयर खरिद–बिक्री भए।

तीन करोड ७२ लाख गैरकानुनी सम्पत्ति आर्जन गरेका नापीका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

तीन करोड ७२ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नापी कार्यालयमा कार्यरत सर्भेयर विन्देश्वर साह सुडीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा नासुसरहको अमिनमा अस्थायी नियुक्ति लिएको १६ वैशाख ०४६ देखि ३२ जेठ ०८१ सम्मको अवधिमा अमिन सुडीले आर्जन र खर्च गरेको रकमको विश्लेषण गरेर स्रोत नखुलेको सम्पत्तिलाई गैरकानुनी ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारको दुरुपयोग गरी गैरकानुनी आर्जन गरेको देखिएको तीन करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँलाई नै सुडीविरुद्धको बिगो रकमका रूपमा कायम गरिएको छ।

चार मन्त्रालयमा थपिए २२९ दरबन्दी, सबैभन्दा धेरै गृहमा

चार मन्त्रालयमा दुई सय २९ दरबन्दी थपिएका छन् । स्वीकृत ओएन्डएमअनुसार चार मन्त्रालयअन्तर्गत २२९ दरबन्दी थप भएका हुन्। त्यसमा सबैभन्दा धेरै गृहमा ९३, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा ९० र पूर्वाधार विकास मन्त्रालय र महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा २३–२३ दरबन्दी थप भएका छन् ।

दुईवर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शम्भुनाथ नगरपालिका– ३ ट्राफिक बजारमा बस्दै आएकी रुविना खातुनकी दुई वर्षीया छोरीलाई हत्या गरी घरपछाडिको झाडीमा फालेको आरोपमा उनकी कान्छी आमा पक्राउ परेकी हुन्।

प्रहरीले घटनापछि तत्कालै आरोपितलाई पक्राउ गरी सोधपुछ गर्दा आफूले नै बालिकाको हत्या गरेको स्वीकार गरेको जनाएको छ। पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका– २, कन्कपट्टी टोलकी तथा हाल शम्भुनाथ नगरपालिका– ३ ट्राफिक बजारमा बस्दै आएकी करिब २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुन रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार